देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

देशान्तर

काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन ।

केही मतदानस्थल (ठाउँ)मा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुन्छ । त्यसैले एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’

अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ । ‘मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको’ विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिनेछ ।’