देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरबासीलाई सुविधा सम्पन्न हस्पिटल : उम्मेदवार सिंह

देशान्तर

नेपाली कांग्रेसकी नेत्रि तथा सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंबासीका लागि छुट्टै सुविधा सम्पन्न हस्पिटल बनाउने उद्घोष गरेकी छिन् ।

‘काठमाडौं महानगरपालिकाभित्र अहिले पनि एकदमै सुविधा सम्पन्न हस्पिटलहरु रहेको कुरामा आफू जानकार रहेको बताउँदै तर यहाँका स्थानीयको पहुँचमा ती नभएको कुराहरु पनि स्वीकार गरिन् । महानगर सबैको घर हो, यहाँ बस्ने ७७ जिल्लाकै नागरिकलाई म महानगरवासी मान्ने भएकाले सबैलाई सहज र सुलभ उपचारका लागि सुविधासम्पन्न हस्पिटल आफ्नो प्राथमिकतामा रहेको छ ।’ उनले भनिन् ।

शिक्षा, स्वास्थ्य र सुरक्षा आम नागरिकको पहिलो आधारभूत आवश्यकता रहेको बताउँदै उम्मेदवार सिंहले आफू मेयर भएमा जेष्ठ नागरिक, महिला बालबालिका र सबैलाई राहत पुग्ने गरि विभिन्न काम गर्ने भन्दै फहरिस्त पनि सार्वजनिक गरेकी छिन् ।

चुनावी प्रचार प्रसारकै क्रममा रहेका बेला आज बानेश्वरमा चेतनशील राष्ट्रिय व्यवसायीक समाजले आयोजना गरेको ‘उम्मेदवारसँग मतदाता’ विषयक कार्यक्रममा सिंहले आफ्नो कार्यक्षेत्रमा नपरेका नदी नाला पनि सरसफाई गर्न लागि पर्ने प्रष्ट पारिन् । उनले भनिन् ‘काठमाडौंलाई विश्वमा चिनाउनका लागि सबै काम गर्न तयार छु, त्यसका लागि नै म चुनावी मैदानमा आएकी हुँ । अहिले पनि बागमति लगाएतका नदीहरु फोहोर मुक्त नभइसकेकाले जसरी पनि ढलमुक्त बनाएर सफा पानी नदीमा बगाउने लक्ष्य रहेको छ ।’

फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगाएतका कुराहरु पनि प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउँदै ‘काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो,’ उनले भनिन् ।

काठमाडौंको फोहोर घरघरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएको बताउँदै फोहोरलाई विना कारण ठुलो समस्या बनाएको समेत सिंहको भनाइ छ । ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउँदा नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन् । ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले योजना पनि सुनाइन् ।

ठूला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नुपर्ने कामको सूची आफूसँग रहेकोले सबैसँगको सहकार्यमा काठमाडौं सुधार्ने सिंहले प्रष्ट पारिन् । काठमाडौं बनाउनुको विकल्प नरहेको बताउदै काँग्रेसले निकालेको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई हेरेरनै काठमाडौंको विकास गर्ने सिंहले बताइन् ।

मध्यरातमा हिड्ने वातावरणसहितको सुरक्षित काठमाडौं बनाउने सिंहले बताइन् । ‘काठमाडौं ७७ जिल्लाबासीको महानगर हो । सबैको सुरक्षाको जिम्मा लिन छु,’ सिहंले भनिन्। महिला र पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै आफ्नो दायित्व हुने सिंहले बताइन् । ‘अब काठमाडौंमा पार्क र पोखरी बन्छन्, खुल्ला मैदान सुरक्षित हुन्छन् । सिंहले भनिन्, ‘३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउँछौं ।’ काठमाडौं २४ घन्टा खुला राखेर चुस्त सार्वजनिक यातायातको सेवा दिलाउने र पीपीपी मोडलबाट सार्वजनिक यातायात सुधार गर्ने समेत सिंहले बताइन् ।

सार्वजनिक यातायातको समस्याले निजी सवारी बढेको र ट्राफिसको समस्या समाधान हुन नसकेकोले सार्वजनिक यातायातमा मुख्य जोड दिने सिंहले बताइन् । सडक सुधार गर्न सबैसँग सहकार्य गरेर धुलो र हिलो रहित काठमाडौं बनाउने सिंहले बताइन्। काठमाडौंका सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताउँदै अल्पकालीन र दीर्घकालीन योजना बनाएर विश्वको पर्यटनको गन्तव्य काठमाडौं बनाउने सिंहले घोषणा गरिन् ।
सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं शहर नै सबैको सपना भएको बताइन् । सिंहले आफूले मेयर भएपछि गर्ने ७ वटा संकल्प आगाडि सारेको बताउँदै दिगो पर्यावरण संस्कृति र सम्पदाको संरक्षण सहितको सृजनशील महानगरबासी बनाउने उद्घोष समेत बताइन् ।

कार्यक्रममा निवर्तमान उपमेयर हरिप्रभा खड्गीले अहिलेको अवस्थामा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको बहुमतका साथ नेतृत्व गर्ने बेला आएको बताइन् ।

विगतमा आफूले गरेका कामहरुको बारेमा जानकारी दिँदै विद्यासुन्दर (एमाले)का जनप्रतिनिधिले महानगरमा धेरै वेथितिहरु गरेकाले जनताले राम्रोसँग सुविधा नपाएको बताइन् । यसैगरी यदि काठमाडौंको मेयरमा केशब स्थापित विजयी भए उनले महानगरका सम्पत्तिहरु पनि भाडामा दिएर व्यक्तिगत लाभको खेलमा लाग्ने भएकाले समयमै जनताले सोँच्नु पर्नेमा जोड दिइन् ।

स्थापितले जिते भने महानगरकाे सम्पत्ति ब्यवसायीलाई भाडामा दिएर पैसा असुल गर्छन् : खड्गी

उनले विगतमा केशब स्थापितले नै नयाँ बसपार्क ४५ बर्षसम्म निजी कम्पनीलाई भाडामा दिएर त्यसबाट अहिले पनि असुल गरिरहेको बताउँदै अहिले पनि महानगरपालिकाले रकम नपाएको जानकारी दिइन् । यसैगरी धरहरा लगाएतका क्षेत्र पनि भाडामा लगाएर असुल गर्नका लागि एमालेको नेतृत्व अहिले लागि परेको बताउँदै सार्वजनिक सम्पत्तिहरुको संरक्षण र सम्बद्र्धन गरेर जनतालाई महानगरको चुस्त सेवा दिलाउनका लागि नेपाली कांग्रेस िजित आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पूर्व मन्त्री शंकर कोइरालाले सिर्जना सिंहसँग मिसन र भिजन दुवै काठमाडौंका लागि पर्याप्त र आवश्यक रहेकाले उनको जितका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । उनी कसैको बुहारी र श्रीमति भन्दा पनि भिजन भएको नेताका रुपमा आफूले हेरेको र काठमाडौंको भावी अभिभावकको रुपमा आफूले देखेको प्रष्ट पारे ।

ओम हस्पिटलका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले सिर्जना सिंह र उनको टिमले जितेमा मात्रै काठमाडौं महानगरपालिकामा हामीले चाहेका विकास निर्माण र सम्पदाको संरक्षण हुने भएकाले सबैले सक्रियतापूवर्क सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले आफूले सिर्जना सिंहसँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै जितका लागि शुभकामना दिए । साथै उनले कांग्रेसका मतदाता अल्छि हुने भएकाले ३० गतेको दिन सबैले मतदान केन्द्रमा गएर भोट दिन अपिल पनि गरे ।

कार्यक्रम संयोजक चेतनशील समाजका रोशन श्रेष्ठले काठमाडौं महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको र ७० प्रतिशत मत खस्दा कम्तिमा १ लाख मत ल्याउने मतदाताले जित्ने भएकाले सबैले एक एक भोटको महत्व बुझेर बुथमा गएर मत दिन आग्रह गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०,११,  २९ र ३१ नम्बर वडाका उम्मेदवारहरुलाई कार्यक्रममा परिचय गराइएको थियो ।