देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवाैं राष्ट्रिय खेलकुदका लागि अमेरिका, अष्ट्रेलिया र इंग्ल्याण्डबाट टिम ल्याउने तयारी

देशान्तर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीब्र पारिएको छ ।

मन्त्रिपरिषद्को बैठकले जेठ २२–२८ गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मिति तोके पछि अहिले सरोकारवाला निकायहरु पनि तयारीमा व्यस्त बनेका छन् ।

अब १ महिना भन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले तयारी शुरु गरेका हुन् । कान्छो विभागको रुपमा गत आठौं राष्ट्रियबाट सहभागी भएको गैर आवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस)ले पनि  तयारी तीब्र पारिएको एनआरएन स्पोर्टस एकेडेमीका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।

उनले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गरि तयारी भइरहेको र यस पटक राखेपले प्रस्ताव गरेका ३६ मध्य १८ खेलमा सहभागी हुने बताएका छन् ।
उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौं ।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागीता जनाउँदै छ । यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।

क्रिकेटको टिम इंग्ल्याण्ड (युके)बाट आउने छ । यसैगरी भलिबलको टिम अष्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउने छ ।

यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अष्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बुझिएको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापा सहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य सचिव गिरीले बताए ।