देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रका लागि मतदान

देशान्तर

संसारमा चलेका राजनीतिक पद्धतिमध्ये लोकतान्त्रिक व्यवस्थालाई सबैभन्दा उत्तम मानिन्छ र यसको आत्मा भनेको आवधिक निर्वाचन नै हो । निर्वाचनको सफलता त्यसमा जनाउने सहभागिताले मापन गर्दछ, चुनावमा गरिने मतदानले नै लोकतन्त्रलाई मजबुत बनाउने सर्वमान्य भनाइ छ ।

त्यसैले लोकतान्त्रिक मुलुकमा जति बढी मतदान भयो त्यो चुनावलाई सफलरूपमा लिइन्छ । अर्कोतर्फ लोकतन्त्रको पक्षमा उभिने दल वा त्यसका उम्मेदवारको चयनले राजनीतिक स्थायित्व प्रदान गर्दछ, त्यसमाथि स्थानीय तहमा असल उम्मेदवार चयन भएन भने विकास निर्माणका साथै दैनिकरूपमा व्यहोर्ने सानातिना स्थानीय प्रशासनका कार्यमा समेत दुःख पाइन सक्ने भएकोले मतदान अति नै अपरिहार्य हुन जान्छ । स्थानीय तह भनेको विकास निर्माणको सुरुवाती जग निर्माण गर्ने तह भएकाले केन्द्रीय सरकारभन्दा स्थानीय सरकार जनताका लागि आवश्यक देखिन्छ । राम्रो स्थानीय सरकार निर्माण भएमा ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भन्ने नाराले समेत सार्थकता पाउँछ, त्यसैले स्थानीय तहमा अनिवार्य मतदान लोकतन्त्र, राजनीतिक स्थायित्व र विकास निर्माणको खातिर अपरिहार्य छ । ठीक पाँच दिनपछि वैशाख ३० गते मुलुकभर स्थानीय सरकार चयनका लागि मतदान हुँदैछ । ७५३ स्थानीय तहमा नयाँ सरकार गठनका लागि हुने मतदान हरेक मतदाताका लागि महत्वपूर्ण छ । जनताको पहिलो सरकारका रूपमा रहेको स्थानीय तहको निर्वाचनले जनताका सरोकारका चासो र मुद्दालाई सही अर्थमा समेट्ने विश्वास छ ।

ऐतिहासिक दोस्रो जनआन्दोलनपछि संविधानसभाले निर्माण गरेको नेपालको संविधान २०७२ जारी भएपछि नेपालमा हुन लागेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । लोकतान्त्रिक अभ्यासको पहिलो मापदण्ड नै बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन हो । संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् । अब चुनिने जनप्रतिनिधिले अर्को पाँच वर्ष स्थानीय सरकार सञ्चालन गर्ने छन् ।

नेपालको संविधान २०७२ ले ३ तहका सरकार स्थापना गरेको छ । पहिलो स्थानीय सरकार, दोस्रो प्रदेश सरकार र तेस्रो संघीय सरकार । यी तीन सरकारमध्ये जनतासँग सिधै जोडिएको सरकार स्थानीय सरकार हो । त्यसकारण पनि स्थानीय तहको निर्वाचनको छुट्टै महत्व रहेको छ । प्रदेश र संघीय निर्वाचनको तुलनामा स्थानीय तहका निर्वाचनका केही फरक विशेषता छन् । स्थानीय तह सरकार चयनका लागि हुने निर्वाचनमा एक मतदाताले एउटै मतपत्रमा ७ ठाउँमा छाप लगाउनु पर्नेछ । मतपत्रमा पहिलो लहरमा प्रमुख तथा अध्यक्ष, दोस्रो लहरमा उपप्रमख तथा उपाध्यक्षका लागि निर्वाचन चिन्ह रहेका छन् भने त्यसपछिका दुई लहरमा खुला महिला सदस्य र दलित महिला सदस्यका निर्वाचन चिन्ह रहेका छन् । अन्तिम दुई लहरमा दुई खुला सदस्यका लागि चिन्ह रहेका छन् । मतपत्रको अन्तिम लहरमा दुईवटा चिन्ह हुन्छन् । सात कोठामा रहेका ८ निर्वाचन चिह्नमा एक एक वटा छाप लगाउनु पर्नेछ । आफ्नो मत बदर हुन नदिन हरेक मतदाताले मतदान गर्नुअघि नै ध्यान पुर्‍याउनु पर्दछ ।

अघिल्लो चुनाव र यसपटकको चुनावमा केही भिन्नता छन् । संविधान जारी भएपछि भएको पहिलो निर्वाचन एक हिसाबले परीक्षण थियो । संविधान कार्यान्वयनको पहिलो खुट्किलो थियो । स्थानीय तह जनताको पहिलो सरकार हो भन्ने यो पाँच वर्षले पुष्टि गरेको छ । अब स्थानीय सरकारलाई जनताप्रति जवाफेही, उत्तरदायी र जनताका मुद्दामा समर्पित गराउने चुनौती छ । जनता आफैंले छानेका प्रतिनिधिबाट यी सबै काम गराउने अवसर यस पटकको निर्वाचनले दिनेछ । ‘स्थानीय सरकारः गाउँगाउँमा सिंहदरबार’ भन्ने नारालाई चरितार्थ गर्न पनि यसपटकको निर्वाचन महत्वपूर्ण रहेको छ ।

जनताको प्रतिनिधित्वका लागि देशभर करिव डेढ लाख उम्मेदवार चुनावी मैदानमा छन् । ७५३ पालिकामा प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँगै वडाध्यक्ष तथा सदस्यहरू चयनका लागि २१ हजारभन्दा बढी मतदान केन्द्रमा आम मतदाताले मतदान गर्दै छन् । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ भने दलहरू, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारलाई तीव्र पारेका छन् । स्थानीय चाहना, सरोकार र आवश्यकताका मुद्दालाई उम्मेदवारहरूले उठाइरहेका छन् ।

यहाँनेर आम मतदाताले विचार पु¥याउनुपर्ने अवस्था आएको छ । स्थानीय तथा राष्ट्रिय आवश्यकताका नाउँमा केही दल र उम्मेदवारले अहम्, आडम्बर र घृणासहितका भ्रम वितरणको प्रयास पनि गरिरहेका छन् । भ्रम र आडम्बरका कारण गएको पाँच वर्ष कतिपय पालिकाका जनप्रतिनिधिहरूको कार्यशैली जनअपेक्षाअनुरूपको हुन सकेन । जनताले सेवाका नाममा सास्ती खेप्नु प¥यो । लोभ, भ्रम र बाहुबलीका भरमा जनतामाथि शासन थोपर्ने प्रयास गरियो । जनताले यसबीचमा ती सबै कुराको भेउ पाइसकेका छन् ।

निर्वाचन लोकतन्त्रसँग जोडिएको हुन्छ । निर्वाचन जनताको अधिकारसँग जोडिएको हुन्छ र निर्वाचन समग्रमा देशको विकास तथा समृद्धिसँग जोडिएको हुन्छ । जुन उम्मेदवार तथा दलले लोकतन्त्र, जनको अधिकार तथा देशको विकासका मुद्दालाई प्राथमिकतामा राखेका छन् र तिनका विगतका कर्म पनि यी विषयसँग जोडिएका छन्, तिनै दलका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनु मतदाताको प्राथमिकतामा पर्दछ । मतदान नितान्त व्यक्तिगत हुन्छ र गोप्य पनि । गोप्यरूपमा गरिने मतदानले नयाँ युगको सुरुवात गर्दछ । पहिले मतदान गर्ने र पछि पछुताउने अवस्था कसैका लागि पनि हितकर हुँदैन । तसर्थ, लोकतन्त्र प्राप्ति, लोकतान्त्रिक अभ्यासलाई संस्थागत र परिवर्तनका संवाहकलाई मतदान गरेर आफ्नो मतको सदुपयोग गर्नु आम मतदाताको कर्तव्य पनि हो ।

चुनावको मुखमा कसैप्रति विष वमन गर्ने, घृणा फैलाउने र गाली गर्ने क्रम पनि बढेको देखिएको छ । आफूले पाएको मतको कदर र सम्मान गर्न नसक्ने तर, अर्काप्रति दोषारोपण गरेर जनतालाई भड्काउन खोज्ने शक्तिको पहिचान जनताले गरिसकेका छन् । अब फेरि त्यही कमजोरी दोहो¥याउनु हुँदैन । यसपटक पनि भ्रम र घृणा फैलाउने दल र उम्मेदवारलाई मतदान गरियो भने न लोकतन्त्र फस्टाउँछ, न त जनताले सहजरूपमा सेवा नै प्राप्त गर्न सक्छन् । तसर्थ सबैले आफ्नो मतको सदुपयोग गरौं । लोकतन्त्र, जनताको अधिकार र देशको विकासमा अहोरात्र क्रियाशील दल तथा तिनका उम्मेदवारलाई जिताऔं । स्थानीय तह निर्वाचन सफल पारौं ।