देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नगरवासीको अनुभूति दिलाउन उम्मेदवारी

देशान्तर

तपाईं चुनावी मैदानमा उत्रिनुको मुख्य कारण के हो ?
बनेपा नगरपालिकालाई सफा सुग्घर बनाएर सौन्दर्यीकरण गर्ने योजना नै हो । साथै यहाँ ग्रामीण भेग पनि छ । त्यहाँका जनताहरूलाई हामी पनि नगरका बासिन्दा हौं भन्ने अनुभूति दिलाउनका लागि नै म चुनावी मैदानमा उत्रिएको छु ।

सामाजिक क्षेत्रमा रहेको मान्छे राजनीतिमा आउन कति सजिलो रहेछ ?

राजनीतिक र सामाजिक दुवैतिर मैले काम त गरिरहेकै छु । म राजनीतिमा लागेको पनि तीन दशकभन्दा धेरै भइसकेको छ । सामाजिक काम पनि योसँगै सम्बन्धित भएकाले सधैं गरिन्छ नै । गाह्रो त मैले मानेको छैन । तर चुनावमा जनताको मत जित्ने कुरा गाह्रो नै हुन्छ । विगतमा हामीले गरेका कामहरूलाई जनताले पनि देखेका छन् । त्यसै कारणले जनताको माया पाउँछु भन्ने विश्वास मलाई छ ।

मतदाताले तपाईंसँग गरेको अपेक्षा के हो ?
विगतका काम र दिनलाई जनताले सम्झिएका पनि छन् । काम गर्दा नेतृत्वमा पुगेका पार्टीका नेताहरूले सही काम नगरेको र गरेको भए पनि पक्षपात पूर्ण तरिकाले गरेकाले पनि जनताले त्यो कुराहरू लिएर बसेका छन् । मेरा विषयमा कुरा गर्दा जनताले यदि शान्तिलाई जिताइयो भने यसले पक्षपात गर्दैन भन्नेमा विश्वस्त भएर बसेका छन् ।

बनेपाको समस्या भनेको डुवान र फोहोरमैला हो, यसका लागि तपाईंका योजना के हुन् ?
डुवान हाम्रो मौसमी कुराहरू भयो । धेरै पानी पर्दा बनेपाको केही ठाउँमा पानी जम्ने गर्छ । यसका लागि सुधारका योजनाहरू हामीले बनाएका छौं । आगामी दिनमा अब डुवानको समस्या बनेपाबासीले भोग्नु पर्दैन । फोहोरमैला व्यवस्थापन यो सबै ठाउँको समस्या हो । हामीकहाँ पनि यो समस्या छ । तर, हामीले यसलाई अलिकति पनि व्यवस्थापन गर्ने हो भने यो ठूलो समस्या पनि होइन । यहाँ ७० हजारको जनसंख्या छ । तर बसोबास गर्ने १ लाख ४० हजार जति होलान् । यहाँ उत्पादन गरेका फोहोरलाई माइक्रो लेभलमा व्यवस्थापन गरियो भने खासै ठूलो समस्या होइन । त्यसका लागि काम गरी पनि रहेका छौं ।

बनेपा कृषि र पर्यटनसँग पनि जोडिएको ठाउँ हो यसका लागि तपाईंको योजना ?
बनेपाको ग्रामीण क्षेत्र कृषिसँग जोडिएको छ । कृषियोग्य जमिनहरू पनि प्रशस्त छन् । काभ्रे जिल्ला तरकारीको पकेट क्षेत्र पनि हो । यसैगरी दुग्धजन्य र पोल्ट्रीको उत्पादन पनि धेरै राम्रो छ । त्यसैले यी कुराहरूलाई व्यवस्थित गर्नका लागि ग्रामीण क्षेत्रमा योजनाहरू लिएर जान्छौं । ठाउँठाउँमा कृषि उपज बिक्री केन्द्र र ग्रामीण क्षेत्रमा कोल्ड स्टोरेज खोल्ने योजना पनि छ । कृषकको लगानी सुरक्षित गर्नका लागि विभिन्न कामहरू पनि गर्नु छ । बनेपालाई पर्यटकीय रूपमा अघि बढाउन प्रशस्त ठाउँहरू छन् । त्यसका लागि पूर्वाधारहरू मात्रै बनाउन बाँकी छ त्यसका लागि हामी तयार छौं ।

चुनाव जित्नलाई मात्रै गठबन्धन कि अरू केही उद्देश्य छ ?
यो केन्द्रबाट भएको निर्देशनअनुसार यहाँ गठबन्धन निर्माण भएको हो । बनेपामा मेयरमा नेपाली कांग्रेसबाट र उपमेयरमा एकीकृत समाजवादीबाट उम्मेदवार छन् । यसैगरी वडामा वडाको आवश्यकताका आधारमा तालमेल भएको छ । सिंगलभन्दा गठबन्धन बनाएर चुनावमा जाँदा जित्न पक्कै पनि सजिलो हुन्छ ।