देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह निर्वाचन

गर्न सक्ने कामको लिस्ट लिएर मैदानमा छु 

देशान्तर

नेपाली कांग्रेसकी नेत्री तथा काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफूसँग स्पष्ट भिजन रहेको र त्यही भिजनका आधारमा मतदाताले मत दिने बताएकी छिन् । वैशाख ३० गते हुने निर्वाचनमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी सिंहले अरू उम्मेदवार कस्ता छन् भनेर उनीहरूको चियो चर्चा गर्नुभन्दा पनि आफू जित्ने लक्ष्यका साथ मैदानमा आएको प्रष्ट पारिन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै उनले आफूले मतदातालाई ठूलाठूला सपना नबाँडेको प्रष्ट पार्दै सुरक्षित र भ्रष्टाचारमुक्त काठमाडौं महानगर बनाउने अभियानमा लागेको पनि बताइन् । मेयर पदकी उम्मेदवार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

विगतमा मत माग्दा र अहिले उम्मेदवार भएर मत माग्दा के फरक पाउनु भयो ?
मैले फरक नै अनुभव गरें । विगतमा अरू उम्मेदवारका लागि मत माग्न जाँदाभन्दा यस पटक उम्मेदवार भएर जाँदा कसले के भन्छ, कस्ता मतदाता हुन् त्यो सबै सोचविचार गरेर उनीहरूलाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

तपाईं उम्मेदवार हुँदै गर्दा पार्टीभित्रै पनि केही रियाक्सनहरू थिए, सबै सल्टिए ?
त्यस्तो केही छैन । सबै पार्टीका सहकर्मी साथीहरूले सहयोग गरिरहनु भएको छ । हामी सबै मत माग्नका लागि टोलटोलमा पुगी पनि रहेका छौं । नेपाली कांग्रेस एकजुट भएर अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपरेको छ । यसैगरी भ्रातृ संस्थाहरूले पनि एकदमै सहयोग गरेर प्रचारप्रसार गरिरहनु भएको छ ।

तपाईंको एक दिनको कार्यतालिका बताउनुहोस् ?
अहिले सेड्युल नै एकदमै व्यस्त छ । बिहानै उठिसकेपछि पूजापाठ गर्ने काम सकिएपछि अरू नियमित काम सुरु हुन्छ । विभिन्न ठाउँका व्यक्तिहरू आउनु भएको हुन्छ, उहाँहरूसँगको भेटघाट छलफल र अन्तरक्रियामा सहभागी हुन्छु । साथै अहिले नियमित रूपमा मत माग्नका लागि वडा—वडा, टोल—टोल जानुपर्छ त्यसमा मेरो व्यस्तता बढेको छ ।

काठमाडौंका मतदाताले किन मत दिने ?
मसँग काठमाडाैंलाई सफा र सुन्दर सहर बनाउँछु भनेर नै उम्मेदवार भएकी हुँ । मसँग त्यसका लागि योजनाहरू पनि छन् । अहिले काठमाडौं अस्तव्यस्त रहेको कुरा सहर्ष स्वीकार गर्दै म पहिलो पटक मेयरको उम्मेदवार भएकी छुँ । मलाई यहाँका मतदाताले मतदान गरेर मेयर बनाउनु भयो भने काठमाडौंलाई विश्वको उत्कृष्ट सहरको रूपमा चिनाउनका लागि मेरो पूरै ध्यान लगाउनेछु । यहाँको अहिलेको समस्या भनेको फोहोरमैला व्यवस्थापन, खानेपानी र सुरक्षित सहर हो । यसमा काम गर्नका लागि म तयार छु । मैले यी कामहरू गर्न पनि सक्छु । म काठमाडौंलाई राम्रो बनाउनका लागि सात वटा संकल्पसहित आएकी छु । ती सात वटामा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा काठमाडौं महानगरलाई स्थापित गर्ने संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्ति गर्ने रहेको छ । यसैगरी शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने रहेको छ । भने  ज्येष्ठ नागरिक, अपांंगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने छु । । काठमाडौंको अर्को समस्या भनेको सरसफाइ र खानेपानी पनि हो । त्यसका लागि काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने योजना रहेको छ भने पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने गरी योजनाहरू बनाएकी छु ।
पछिल्लो समय काठमाडौंमा सुरक्षाको कुरा पनि जोडतोडले उठ्ने गरेको छ । त्यसैले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने मेरो प्रतिबद्धता नै हो । काठमाडौं विश्व सम्पदा सूचीमा सूचीकृत ठाउँ भएकाले पनि हामीले यहाँ मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संंरक्षण गर्नुपर्ने अर्को आवश्यकता पनि छ । यसैगरी पूर्वाधार तर्फ सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्दै महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने योजना लिएर पनि चुनावी मैदानमा छु ।
बेरोजगारी अहिलको ठूलो समस्या हो त्यसैले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरवासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी पनि म नेतृत्वमा आएपछि लिनेछु । मेरा प्रतिबद्धताहरू स्पष्ट र सरल भएकाले यो पटक काठमाडौं महानगरपालिकाका मतदाताले मलाई भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । साथै म राजनीतिकर्मी र सामाजिक अभियन्ता पनि हो । म यहाँ गफ गर्न आएको होइन ।

७७ जिल्लाकै मानिसहरूको बसोबास रहेको काठमाडौं महानगरपालिकालाई कसरी उत्कृष्ट महानगर बनाउने, तपाईको योजना के हो ?
सबैभन्दा पहिलो कुरा त सुशासन नै हो । सुशासन भएन भने कुनै पनि काम गर्न सकिँदैन । अहिले धेरै ठाउँमा बेथिति रहेको कुराहरू त तपाईं हामीले देख्दै र भोग्दै पनि आएका छौं । मेरो पहिलो काम सुशासन कायम गराउनमै केन्द्रित हुन्छ । अर्को कुरा यहाँको फोहोरमैला र धुलोधुवाँको व्यवस्थापनमा ध्यान दिनुपर्छ । अर्को कुरा विश्व सम्पदा सूचीमा परेको सहर काठमाडौंलाई व्यवस्थित गरेर पर्यटकीय सहर बनाउने मेरो ठूलो दायित्व छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू पुनर्निर्माण हुँदा नै विवादमा आए, यदि तपाईंले नेतृत्व गर्ने अवसर पाउनु भयो भने अझैं राम्रो कसरी सबैलाई चित्तबुझ्दो बनाउनु हुन्छ ?
बनिसकेका संरचनाहरू व्यवस्थित गर्ने काम नै पहिलो काम हो । यसका लागि प्राधिकरणमार्फत काम गर्नुपर्छ । त्यतिमात्रै होइन, यहाँको धर्म संस्कृति मौलिक बाजागाजा र थुप्रै कुराहरू पनि छ । काठमाडौंका कतिपय बाजागाजाहरू लोप भएर पनि गइसकेको छ । यो सबैलाई व्यवस्थित गर्नका लागि मैले जितिसकेपछि सबैसँग सल्लाह गरेर कामहरू अघि बढाउँछु भन्ने मसँग हिम्मत र आँट पनि छ ।

काठमाडौं महिलाका लागि असुरक्षित सहर भनिन्छ, तपाईंका एजेन्डा के छन् ?
म महिलाको सुरक्षाका लागि संवदेनशील छु । यहाँ महिला पुरुष सबैले सुरक्षित महसुस गर्न पाउनु पर्छ । त्यसका लागि म नेतृत्वमा आएपछि सुरक्षित सहरको रूपमा यसलाई अघि बढाउने सोँच र योजना छ । सबैभन्दा यहाँ असुरक्षा हुनुको प्रमुख कारण अन्धकार हो । त्यसका लागि हरेक टोलटोलमा बत्ती र सीसी टीभी जडान गर्ने योजना नै छ । साथै काठमाडौं महानगरपालिकाका सबै वडामा क्विक रेसपोन्स टिम पनि बनाउनेछु । यो टिम भयो भने जहाँ अपराध र असुरक्षा हुन्छ त्यहाँ त्यो टिम पुगेर रेस्क्यु गर्न सकोस् ।  यसका लागि मैले नेपाल प्रहरीसँग समन्वय गरेर काठमाडौंमा सामाजिक सुरक्षाको अवस्था मजबुत बनाउने विशेष पहल गर्छु ।

चुनावमा त अलि बढी भावनामा बगेर योजनाहरू बनाउँछन् तपाईंका पनि त्यस्तै हुन् कि ?
म चुनावी प्रतिस्पर्धामा उत्रँदा भावनामा बगेर पनि आएको छैन । म यहाँ गफ गर्न आएको पनि होइन, काम गरेर राम्रो काठमाडौं बनाउने पवित्र उद्देश्य बोकेर मैदानमा आएकी छु । म कसैलाई पनि सपना बाँड्दिनँ । म एकदमै आफूले गर्न सक्ने कुराहरू लिएर मात्रै चुनावी मैदानमा आएकी छु । मलाई विश्वास छ, यहाँका मतदाताले मेरो कुरामा साथ दिनुहुनेछ र बैशाख ३० गते हुने चुनावमा गठबन्धनको तर्फबाट म उम्मेदवार रहेको मत चिह्न रूखमा मत दिनु हुनेछ भने अरू गठबन्धनका उम्मेदवारहरूका आआफ्ना निर्वाचन चिह्नमा मत दिएर महानगरमा सिंगो हाम्रो कार्यसमितिलाई निर्वाचित गर्नुहुनेछ भन्ने विश्वास लिएकी पनि छु ।

तपाईंहरूको गठबन्धनमा रहेर चुनाव प्रचारप्रसार कसरी भइरहेको छ ?
हामी पाँचदलीय गठबन्धनबाट चुनाव लडेका छौं । मेरो उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ हुनुहुन्छ । उहाँ र मैले पनि सँगसँगै घरदैलो गरिरहेका छौं । कतिपय ठाउँमा उहाँ र मेरो छुट्टाछुट्टै भेटघाट पनि गरिरहेका हुन्छौं । हामीले दुवै जनासहित सबै टिमलाई भोट मागिरहेका छौं । किनभने हामी अहिले गठबन्धनमा रहेकाले सबै मिलेर नै चुनावमा सफलता हासिल गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छौं ।

गठबन्धनले चुनाव हार्‍यो भने मुलुक दुर्घटनामा पर्छ, के अवस्था त्यस्तै हो ?
हो नै । किनभने यो गठबन्धन नबनेको भए अहिले यसरी तपाईं हामी कुरा गर्न सक्ने अवस्था हुने थिएन । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम त हामीलाई थाहा छ नि । ओलीले दुई–दुई पटक असंवैधानिक कदम चाल्दै संसद् विघटन गरेपछि संविधान रक्षा गर्नका लागि यो गठबन्धन बनेको हो । त्यसैले अहिलेको अवस्थामा गठबन्धनले जितेमा संविधान रक्षा गर्न पनि सहज हुन्छ भन्ने बुझाइ पनि हो ।

मतदाताले तपाईंहरूसँग के अपेक्षा राखेका छन् ?
म काठमाडौं महानगरपालिकाका जनतासँग परिचित छु । यहाँका समस्याका बारेमा जानकार पनि छु । साथसाथै जनताका समस्या के हुन् भनेर अन्तरक्रिया गरिरहेकी महिला पनि हुँ । अहिले पनि घरदैलोमा जाँदा ठूलोठूलो अपेक्षा केही पनि छैन । जनताले काठमाडौं धूलो धुवाँमुक्त होस्, ढल जाम नहोस्, प्रशस्त खाने पानी होस् र सुरक्षित ठाउँ होस् भन्ने मात्रै अपेक्षा राख्नु भएको छ । यो त दैनिक जनजीविकासँग जोडिएको सवाल पनि हो । युवाहरूलाई रोजगारी र ज्येष्ठ नागरिकहरूलाई रमाइलो गर्ने ठाउँको आवश्यकता रहेको माग गर्नुभएको छ । त्यसले गर्दा यहाँ ठूलाठूला कुराभन्दा पनि सानासाना काम गर्नुपर्ने छ । त्यसका लागि म तयार छु ।

काठमाडौं त कंक्रिटको सहर भइसक्यो, खुला ठाउँ खोज्न कहाँ जाने ?
होइन, अझै पनि काठमाडौंमा खुला ठाउँ बाँकी छ ।  ती खुला ठाउँको संरक्षणका लागि मेरो भूमिका रहन्छ । म मेयर भएमा खुला ठाउँमा ठूल ठूला भवन बनाउन दिन्न । अब बन्ने संरचना भनेको ज्येष्ठ नागरिक भवन र स्वास्थ्य प्रवद्र्धन केन्द्रको मात्रै भवन बन्छ । यो भनेको जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको पनि विषय हो । त्यसैले अब हरेक खुला ठाउँमा पार्क र केटाकेटी खेल्ने ठाउँ बनाउने हो ।

तपाईं विरासतबाट पाएर मेयरको उम्मेदवार बन्नु भयो हो ?
म बिरासतबाट आएको होइन । २०३३ सालमै मैले नेपाली कांग्रेसको सदस्यता लिएको हुँ । मेरो सम्पूर्ण युवा अवस्था यो देशमा प्रजातन्त्र स्थापनाका लागि बिताएर आएकी हुँ । मैले पुलिसको लठ्ठी पनि खाएकी छु, जुलुसको नेतृत्व पनि गरेकी छु । हनुमान ढोकाको चिसो छिँडीमा पनि बसेकी छु । म विवाह गरेपछि मेरो घरमा सबैजना राजनीति गर्ने हुनुहुन्थ्यो । मेरो सासू मंगलादेवी सिंह र ससुरा गणेशमान सिंह राष्ट्रिय राजनीतिमा हुनुहुन्थ्यो । उहाँहरूले मुलुकको मुहार फेरेर रैतीबाट नागरिक बनाउने अभियानमा हुनुहुन्थ्यो । त्यसले गर्दा मैले पार्टी नछाडेर घर परिवारलाई समय दिएकी हुँ । म घरमा बस्दा कुनै पनि पद नलिएकाले पनि यस्तो आरोप लगाइएको हो । यसमा मेरो थप केही भन्नु छैन । तर के पनि हो भने म राजनीतिमा लाग्नका लागि पद नै चाहिन्छ भन्ने पनि होइन । म १५ वर्षदेखि नेपाल महिला संघको प्रमुख सल्लाहकार भएर काम गरेकी छु । म महिला हक अधिकार र महिला सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेर काम पनि गरिरहेकी छु । म घरमै बसिरहेर निष्क्रिय भएको भए त नेपाल महिला संघले पनि मेयरको उम्मेदवारको रूपमा प्रस्ताव गर्ने थिएन नि । पद नलिए पनि पार्टीका अन्य साथी सरह मेरो पनि योगदान रहेको छ ।

काठमाडौंको निर्वाचनमा अरू उम्मेदवारभन्दा तपाईंको चर्चा अलि कम छ किन ?
म अन्य उम्मेदवारको विषयमा चर्चा गर्दिनँ । निर्वाचनमा उठ्न पाउने अधिकार हरेक नेपालीको छ । यसका लागि नै हामी सबैले आन्दोलन गरेर नै अहिलेको व्यवस्था ल्याएका हौं । जनताले नै हाम्रो मूल्यांकन गरिरहेका छन् । चुनावको बेलामा ठूलाठूला नारा दिएर आउनेहरू चुनावपछि त्यसै हराएर जान्छन् । यो अभ्यास त हामीले विगतमै पनि देखेकै हो । कोभिडको बेलामा त योगदान गर्न नसकेकाहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ यदि त्यस्ता पात्रले चुनाव जित्नुभयो भने के गर्नुहोला र, जनताले पनि उहाँहरूलाई पत्याउने आधार नै छैन । अझ यो त देशको राजधानी पनि हो । यहाँका सबै जनताले राम्रोसँग पनि बुझ्नु भएको छ । चुनावका बेलामा यस्ता उम्मेदवारका हावाहुरी आउने गर्छन् त्यो स्वाभाविक पनि हो । म आफूलाई कुनै पनि हालतमा कमजोर ठान्दिनँ । म दृढ संकल्पका साथ चुनावी मैदानमा छु । निश्चित उद्देश्य र लक्ष्य लिएर हिँडेकाले जित निश्चित छ ।  तर चुनावको सन्दर्भमा एक एक भोटको पनि ठूलो महत्व हुने भएकाले म उहाँहरूको विषयमा चियो चर्चो गर्न चाहन्न ।

काठमाडौं महानगरमा सिर्जना सिंहको प्रतिस्पर्धा कोसँग हो ?
मेरो प्रतिस्पर्धा कोसँगभन्दा पनि म आफू जित्छु भन्नेमा ढुक्क छु । मेरो उम्मेदवारीले काठमाडौं महानगरपालिकाका मतदाताहरू एकदमै उत्साहित पनि हुनु भएको छ । नेपाली कांग्रेसले मलाई मेयरको रूपमा अघि बढाएपछि सबैजनाले बल्ल काठमाडौं सफा स्वच्छ बन्ने अपेक्षा लिनुभएको छ ।

तपाईं मतदाताहरूसँग पुग्न अझैं सक्नु भएन पनि भन्छन् ?
हामीले धेरैभन्दा धेरै मतदातालाई भेट्ने योजनाका साथ हिँडिरहेका छौं । विहान, बेलुका हामी दैनिक घरदैलो अभियानमा हिँडेका पनि छौं ।

तपाईले जित्नुभयो भने गर्ने कामको लिस्ट के हो ?
मेरो पहिलो काम सुशासन नै हो । घर फोहोर भएर बाहिर ठूलाठूला कुरा गरेर केही पनि हुँदैन । महानगरभित्र भ्रष्टाचारमुक्त  गर्ने, सुशासन दिलाउने, सबैलाई समान सेवा र सुविधा उपलब्ध गराउने पहिलो प्राथमिकतामा पर्छ । दोस्रो काठमाडौंलाई सफा गर्नुपर्ने छ ।

कसरी काठमाडौं सफा गर्ने, सिसडोल भरियो ?
काठमाडौंलाई सफा गर्नका लागि घरैबाट पहल गर्नुपर्छ । घरमै फोहोर व्यवस्थापनका उपायहरू अबलम्बन गर्दा धेरै कुराहरू गर्न सकिन्छ । अहिले त व्यवस्थापन गर्ने संयन्त्र नै कमजोर भएर हो ।