देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ

देशान्तर

मुस्ताङ । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा आउने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटन याम सुरु भएसँगै मौसमले पनि साथ दिएका कारण एक महिनादेखि होटल भरिभराउ भइरहेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ । खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ । ‘नेपालीहरु विदेशीजस्तो हरेक कुरामा बार्गेनिङ गर्दैनन्, पहिला हामी सेतो छाला गरेको मान्छेलाई मात्र पर्यटक भन्थ्यौँ’ , मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका तुलाचनले भने–‘तर, अहिले यहाँको अवस्था बदलिएको छ, धेरै दिनअघिदेखि नै हाम्रा होटल बुकिङ भइरहेका छन् ।’

नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै सात हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ । ‘लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा छन्, चैत महिनादेखि अहिलेसम्म कुनै दिन खाली छैनन्’ , तुलाचनले भने– ‘एकदमै राम्रो व्यापार भइरहेको छ ।’ एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्य तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताए । ‘चैतेदसैँको मौसममा भारतीय नागरिक पनि धेरै आए, तर उनीहरुकै हाराहारीमा नेपाली पनि आए’ उनले भने ।