देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह निर्वाचन २०७९

काठमाडौं महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं जिल्लामा १ हजार २६२ जनाको उम्मेदवारी

देशान्तर

काठमाडौं । काठमाडौ‌ं महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।

५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुमध्ये ८ जना महिला छन् ।

उपमेयर पदमा उम्मेदारी दिने २१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गरेका छन् । उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र आज (बैशाख ११ र १२ गते) गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।

मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौं महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो ।

यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । खतिवडा भन्छन्, ‘यसरी क्षेत्र विभाजन गरेर डेक्स राखिएकाले भीड कम गराउन मद्दत भयो ।’

निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला भएका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा मेयर पदका लागि १२५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।