काठमाडौं – सत्तारूढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।
बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। देशैभरि पाँच दलको एउटै उम्मेदवार हुने उनको भनाइ छ।
उनले भने, ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्म अनुसार अगाडी बढ्ने र काहिँ आन्तरिक केही असमझदारीहरू छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने। र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरूलाई अगाडि बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णयअनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ।’
गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतिमा ल्याउने बताए। उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए।
‘पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयङ्गम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढ्नुको हामीसँग अहिले विकल्प छैन र अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तीव्रता दिनुपर्दछ’ उनले भने, ‘स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरूलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफ्नो संयन्त्रमार्फत् आ–आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ।
र केही छुटफुट उम्मेदवारीहरु दर्ता भए पनि तिनीहरुलाई फेरी सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरू देशभरि हुनेछन्।
प्रतिक्रिया