देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले नै अदालतको आदेशबाट जन्मिएको पार्टी भएको कांग्रेसको दाबी

देशान्तर

काठमाडौँ — नेपाली कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा कांग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको व्याख्या गरेको हो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कांग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई परमादेश सरकार भन्दै टिप्पणी गर्ने गरेका छन् ।

‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन व्यंग्य र कटाक्ष गर्दै आउनुभएको छ । तर एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थानीय समिति सदस्य घनश्याम भूषाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनस्स्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानुभएको थियो,’ कांग्रेसले भनेको छ, ‘एमाले स्वयं र नेकपा माओवादी केन्द्रसमेत अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् ।’

कांग्रेसले अघि सोधेको छ, ‘अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला रु’

ओलीले सर्वोच्च अदालतप्रति गर्दै आएका टिप्पणीलाई कांग्रेसले आलोचना गरेको छ । घोषणापत्रमा भनिएको छ, ुयदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।

प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशलाई लिएर ओलीले न्यायाधीशहरूको चर्को विरोध गर्दै आएका छन् । उनले सरकारलाई परमादेशी र न्यायाधीशहरूलाई सेटिङमा लागेको आरोप सार्वजनिक मञ्च र पार्टीका डकुमेन्टमा लगाउने गरेका छन् । त्यसलाई लिएर कांग्रेसले आलोचना गर्दै प्रश्न गरेको हो ।

कांग्रेसको घोषणापत्र महामन्त्री गगन थापाको नेतृत्वमा तयार भएको हो । उक्त घोषणापत्र प्रधानमन्त्री तथा पार्टी सभापति देउवासहित कांग्रेस पदाधिकारीहरूले सार्वजनिक गरेका हुन् ।