देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको बर्बराहट, घोषणापत्रमा भ्रमैभ्रम


काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले कम असन्तुष्टिका बीच चुनावी तालमेल गरेपछि आफूलाई १ नम्बर पार्टी भन्ने एमालेका नेता केपी शर्मा ओली राजनीतिक हैसियतभन्दा तल झरेर भाषणमा बर्बराउन थालेका छन् भने उनको पार्टीले जारी गरेको घोषणापत्रमा भ्रम नै भ्रम बेच्ने जमर्को गरिएको छ । यसभन्दा अगाडिको चुनावमा पनि उनको पार्टीले पानीजहाज, रेल, घरघरमा ग्यासको पाइपलाइन र तुइनमुक्त नेपाल भन्ने जस्ता सस्तो नाराहरू उठाएकोमा यस पटकको घोषणापत्र भ्रमैभ्रमको पुलिन्दाको रूपमा आएको राजनीतिक विश्लेषकहरू बताउन थालिसकेका छन् ।

२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादको खोक्रो नारा दिएर जनतालाई भ्रमित बनाउँदै आफ्नो पक्षमा मत लिन सफल केपी ओली नेतृत्वको नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमार्फत फेरि भ्रम छर्ने प्रयास गरेको छ । जनमतको घोर अपमान गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेरर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकल्ने प्रयास गरेको उसले सार्वजनिक गरेको घोषणापत्र मानौं कि एमाले नभएको भए नेपालको सिंगो सृष्टि नै रोकिने थियो जस्तो गरेको छ । कोरोना महामारीका बेला जनताको जिउको रक्षा गर्न लाग्नुको साटो त्यही मौका छोपेर ओली नेतृत्व सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको थियो ।

तर, उसले आफ्नो घोषणापत्रमा त्यस विषयलाई उल्लेख नगरी अघिल्लो र पछिल्ला सरकारका पालमा मात्र नभएर स्वाभाविक विकास निमार्णका कामलाई पनि पार्टी नेतृत्वको सरकारले गरेको भन्दै व्याख्या गरेको छ । झुटका पुलिन्दाहरूलाई फेरि पनि घोषणापत्रमार्फत जनतासम्म लैजाने एमालेले प्रयास गरेको छ ।

धरहरा, रानीपोखरी, पोखरा विमानस्थल, जनकपुर जयनगर रेल एमाले नेतृत्व सरकारले मात्र गरेको जसरी प्रस्तुत गरेको छ । यसबीचमा स्थानीय स्तरमा ४ हजार ३ सय ६२ किमि कालोपत्रे सबै सडक एमाले एक्लैले गरे जसरी प्रस्तुत गरेको उसले ७२५ पालिका सडक सञ्जालमा जोडिनुलाई मात्र होइन पुष्पलाल लोकमार्ग, काठमाडौं– तराई द्रूतमार्ग र पूर्व–पश्चिम राजमार्ग निर्माण र विस्तार रफ्तार गतिमा भएको भन्दै त्यसको पनि जस लिन खोजेको छ । हुलाकी राजमार्गदेखि पुल, कल्भर्ट र पक्की नाली निर्माणसम्मलाई उसले आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

उत्तरी सीमा जोडिएका जिल्लामा एकीकृत विकास गरिएको, लार्चा र टिमरेमा बहुउदेश्यीय एकीकृत भन्सार संरचना र सुक्खा बन्दरगाह निर्माण गरिएको, वीरगन्ज र विराटनगरमा एकीकृत जाँचचौकी निर्माण र सञ्चालन गरिएको, अमलेखगन्ज–मोतीहारी सीमा वारपार पेट्रोलियम पाइप लाइन निर्माण गरिएको, चोभारमा सुक्खा बन्दरगाह निर्माण गरिएका विषयलाई पनि उसले छुटाएको छैन । हुँदाहुँदा कुनै स्रोतसाधन र पूर्वअध्ययनबिना जनताको आँखामा छारो हल्नका लागि शिलान्यास मात्र गरिएका स्थानीय तहका अस्पतालहरूको पनि यसले चर्चा गर्न छुटाएको छैन ।

त्यतिमात्र होइन अघिल्लो निर्वाचनमा रेल, मोनोरेल, पानीजहाजका उडन्ते गफ दिएर जनमत आफ्नो पक्षमा पारेको एमालेले अहिले फेरि एक स्थानीय तह एक उद्योगजस्ता नारा अघि सारेको छ । सबै पालिकामा उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश जानबाट रोक्ने दाबी गरेको उसले त्यसका लागि स्रोतसाधन कहाँ र कसरी जुटाउने भन्ने केही उल्लेख गरेको छ ।
भ्यु टावर र नेताका नाममा पार्कजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरेको उसले घोषणापत्र सार्वजनिक गर्ने क्रममा पनि त्यसको बचाउ गर्दै आगामी दिनमा पनि त्यस्तै कामलाई प्रोत्साहन गर्ने देखिएको छ ।