देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज र भोलि मनोनयन

देशान्तर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) ७ सय ५३ स्थानीय तहमा राजनीतिक दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गर्नेछन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आयोगले पहिलो पटक दुई दिन उम्मेदवारी मनोनयनका लागि समय तोकेको हो । आयोगले तोकेको समयभित्र उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि प्रमुख राजनीतिक दलहरू स्थानीय तहमा दलीय तालमेल मिलाउनुको साथै आआफ्ना पार्टीबाट खडा गर्ने उम्मेदवारको अन्तिम टुंगो लगाउने कसरतमा जुटेका छन् ।

सत्ता साझेदार पाँच दलले महानगर र उपमहानगर भागबन्डा गरिसकेका छन् । अन्य नगरपालिका र गाउँपालिकामा मात्र होइन वडासम्मै गठबन्धन गर्ने केन्द्रीय नीतिअनुसारको गृहकार्यमा जुटेका छन् । अधिकांश जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जाने उनीहरूको तयारी छ । सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने डङ्का पिट्दै आएको प्रमुख प्रतिपक्ष एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसहितका दलहरूसँग मिलेर अघि बढ्ने कसरतमा जुटेको छ । सुरुमा उम्मेदवारी मनोनयन दर्ता गरे पनि पछि फिर्ता लिने गरी छलफल अघि बढेको नेताहरूले दाबी गर्दै आएका छन् ।

स्थानीय तहको उम्मेदवार हुन नेपाली नागरिक, २१ वर्ष पूरा भएको र उम्मेदवार हुने स्थानीय तहमा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । त्यस्तै कानुनले पनि योग्य ठह¥याएको व्यक्तिमात्रै उम्मेदवार बन्न सक्छन् । भ्रष्टाचार, बलात्कार, मानव बेचबिखन, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानीमा दुरुपयोगमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न पाउने छैन । यसबाहेक अपराधमा २० वर्षभन्दा बढी जेल सजाय पाएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य ठहरिन्छ । संगठित अपराधमा कसुर ठहर भएपछि तीन वर्ष सजाय पाएको भए कैदमुक्त भएको ६ वर्ष पूरा भएको हुनुपर्छ । जातीय, छुवाछूत, बोक्सी र बहुविवाहको मुद्दामा कैदमुक्त भएको तीन वर्ष पूरा नभएसम्म उम्मेदवार बन्न अयोग्य ठहरिन्छ ।

बेरुजु हुन नहुने, सम्बन्धित स्थानीय तहमा ठेक्काको काम गरेको हुन नहुने र बहालवाला जनप्रतिनिधि भए पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले नागरिकता, त्यही स्थानीय तहको मतदाता भएको निस्सा, स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित मनोनयन पत्र पेस गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि वैशाख ८ गते नै सबै स्थानीय तहमा कार्यालय स्थापना गरी त्यसरी पूरा गरेको जनाएको छ ।