देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउनको तेस्रो हप्तादेखि राजधानीवासीले मेलम्चीको पानी पीउन पाउने

देशान्तर

काठमाडौँ । मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएको छ ।

उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण सुरु गरिने जानकारी दिए ।

त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा खानयोग्य हुने उनको तर्क छ । उनले भने– सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ ।

मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ ।

हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिच्छ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भने– चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ ।

पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा आठ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउने छन् ।

परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ ।

परियोजनाअन्तर्गत रु साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका)को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ ।

जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको त्सुकाहाराले जानकारी दिए ।

हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । विसं २०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो ।

विसं २०७२ चैतभित्र प्लान्टको काम सक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो ।

प्लान्ट सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिम दिइने छ । सुन्दरीजलमा ५०० रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ ।

मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की निर्माण गरिँदै छ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्याङ्की निर्माण हुँदैछ ।