देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरमा मनाेनयन दर्तापछि मात्रै मतपत्र छापिने

देशान्तर

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।

आयोगमा शनिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसलाई आयोगको पूर्वनिर्णय बताउनुभएको छ । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहनेछ । उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न हुने छैन ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई महिलाको उम्मेदवारी कम हुनेभन्दा बढाउनेतिर लाग्न आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐनमा एकल उम्मेदवार दर्ता गर्ने राजनीति दलले महिला नै उठाउनुपर्ने व्यवस्था नभए पनि महिलालाई प्राथमिकता दिन उहाँको आग्रह थियो ।

कुनै राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने कानुनी व्यवस्था ख्याल गर्दै उम्मेदवारी दर्ता गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

थपलियाले ‘गठबन्धन’ भन्ने शब्द आयोगको कानुनमा नभएको भन्दै जुन चिह्नबाट उम्मेदवारी दिइन्छ सो उम्मेदवार सोही दलको हुने उहाँको भनाइ थियो ।

यसैबीच आइतबार र सोमबार हुने उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आयोगले दल तथा उम्मेदवारका झण्डा र तथा चुनाव चिह्न लगायतका वस्तु प्रर्दशनमा कडाइ गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्माले आमसभा र मोटरसाइकल र्‍याली जस्तामा झन्डाहरूको अत्याधिक प्रयोगमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो ।

उम्मेदवारी दर्तापछि पार्टी र उम्मेदवारको चिह्न अंकित कपडा, भेस्ट, टिसर्ट, क्याप वा झोला बोकेको पाइए कारबाही हुने उहाँको भनाइ छ ।