देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

देशान्तर

काठमाडौँ — महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

अहिले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रवक्ता प्रकाशशरण महतले शुक्रबारको बैठकमा छ वटा महानगरपालिकामा पार्टीका तर्फबाट उठाइने उम्मेदवारका बारेमा छलफल हुने बताए । विधानअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको चयन केन्द्रीय संसदीय समितिमार्फत् गर्नुपर्ने हुन्छ । तर, यसपटक संसदीय समिति नै गठन भएको छैन ।

सभापति देउवाले आकांक्षी धेरै भएपनि संसदीय समिति गठन गर्नुको सट्टा उम्मेदवार चयन गर्ने काम नै कार्यसम्पादन समितिबाट गर्न लागेका हुन् । ‘महानगर र उपमहानगरको सिट बाँडफाँट केन्द्रबाट भयो । तर उम्मेदवार चयन विधान अनुसार नै हुन्छ,’ प्रवक्ता महतले भने, ‘केन्द्रबाट उम्मेदवार छान्न महानगरपालिकाको मात्रै हो । बाँकी विधानबमोजिम गर्ने हो । त्यसमा केही समस्या आएको अवस्थामा मात्रै माथिल्लो निकायले समन्वय गरिदिने हो ।’

सभापति देउवाले उम्मेदवार चयनबारे बिहीबार बेलुका र शुक्रबार बिहान आफ्नै निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकालागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।