देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेडिकल माफिया पण्डित छानबिनमा

देशान्तर

काठमाडौं । अधिकांश सरकारी अस्पतालमा अर्बौंको मेडिकल तथा सर्जिकल सामग्री आपूर्ति गर्दै आएका ठेकेदार विशाल पण्डितमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । सरकारी तथा निजी अस्पताल, प्रतिष्ठानका कर्मचारी, अस्पतालका खरिद एकाइ, मेडिकल उपकरणको स्पेक बनाउने चिकित्सकसँग मिलेमतो गरी सिटिस्क्यान, क्याथ ल्याब, एमआरआई मेसिन, ईसीजी, इको र एक्सरेजस्तो मेसिन खरिदमा ठूलो सेटिङ गर्ने गरेको भन्दै विभिन्न निकायमा उजुरी परेपछि पण्डित छानबिनमा तानिएका हुन् ।

धादिङको साविक केवलपुर १ घर भएका पण्डितले सेटिङ ठेक्काबाटै अर्र्बौको सम्पत्ति जोडेका छन् । कुनै समय त्रिपुरेश्वरस्थित एक सर्जिकल पसलमा काम गर्ने पण्डितले २०६८ पुस २८ मा आफ्नै स्वामित्वको हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. नामक कम्पनी स्थापना गरेका थिए । २०७६ मा पण्डितले उक्त कम्पनीको अधिकृत पुँजीबृद्धि गरेर एक करोड रुपैयाँ बनाएका थिए । उनले मेडिकल सामग्री खरिदमा एकलौटी गर्न आफ्नै दाजु पुष्करको नाममा लाइफलाइन ट्रेड इन्टरनेसनल नामक कम्पनीसमेत खडा गरेको आरोप छ । उनले कर्मचारीलाई हातमा लिएर आफंैले स्पेसिफिकेसन बनाउने र टेन्डरसमेत आफू अनुकूल हुने गरी मात्रै पार्ने गरेको आरोप छ ।

पण्डितले ठेक्कामा सेटिङ गरी अर्बौं कमाए पनि राज्यलाई भने कर छली गरेको आरोप छ । उनीविरुद्ध स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न निकायमा उजुरी परेको छ । प्रधानमन्त्री कार्यालयले चैत्त २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । मेडिकल सामग्री खरिद ठेक्का सेटिङबाट कमाएको अर्बौं रुपैयाँले पण्डितले सिंहदरबारस्थित राष्ट्रिय अनुसन्धान विभाग अगाडि मापदण्ड विपरीत होटल पनि बनाएका छन् ।