देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रको स्तम्भ आवधिक निर्वाचन

देशान्तर

२०७९ वैशाख ४ गतेको यो अंकको प्रकाशनसँगै देशान्तर साप्ताहिक ४०औं वर्षमा प्रवेश गरेको छ । नेपालको पत्रकारिताको इतिहासमा एउटा साप्ताहिक पत्रिका अनवरत चार दशक प्रकाशित हुनु आफैंमा गौरवको विषय हो । जुन गौरव हामीले महसुस गरिरहेका छौं ।

३९ वर्षको यात्रामा देशान्तरले अनेकौं उतार-चढाव आरोह–अवरोह, उकाली–ओराली व्यहोरे पनि आफ्नो मिसन (लक्ष्य)मा एकरति पनि विचलित नभएको यहाँहरू सबैमा विदितै छ । पत्रकार, पाठक, विज्ञापनदाता, समर्थक–शुभेच्छुक सबैको सहयोग र सद्भावका कारण देशान्तर नेपालको मिसन पत्रकारिताको आफ्नो यात्रामा अविचलित रूपमा हिँड्न सफल भएको हो । पञ्चात, संसदीय प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हामी लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा अडिग र निर्भीक रहेको सबैमा स्पष्ट छ । यात्राको दौरान पञ्चायती क्रूरशासन र पूर्वराजा ज्ञानेन्द्रको १९ महिने प्रत्यक्ष शासन देशान्तरको जीवनमा अविस्मरणीय रह्यो । तर पनि हामी हाम्रो निष्ठा र मिसनमा चट्टान झैं अडिग रह्यौं । लोकतन्त्रको पक्षमा निरन्तर पहरेदारी गरिरह्यौं र गरिरहनेछौं । यो हाम्रो प्रतिबद्धता हो ।

नयाँ वर्ष २०७९ नेपालको राजनीतिमा अति नै महत्वपूर्ण वर्ष भएर आएको छ किनभने यो वर्ष लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचनको वर्ष हो । यो वर्ष नेपालमा तीनै तह स्थानीय, प्रदेश र संघको चुनाव हुनुपर्ने संवैधानिक बाध्यता छ । अझ २६ दिनपछि लोकतन्त्रको जगको रूपमा चिनिने स्थानीय तहको चुनाव हुँदैछ । काबुबाहिरका कारणबाहेक यी तीनै तहको चुनाव यसै वर्ष सम्पन्न भएपछि लोकतन्त्रको स्थायित्वमा कसैले धावा बोल्न सक्दैन  । अघिल्लो चुनावमा नेपाली जनताले अकस्मात र रहस्यमयरूपमा चुनावको मुखमा मिलेका कम्युनिस्टहरूलाई झन्डै दुई तिहाइ मत दिँदा पनि सरकार र राज्य सञ्चालन गर्न नसकेको दृष्टान्तलाई दृष्टिगत गर्दै यस वर्ष सम्पन्न हुने सबै चुनावमा लोकतन्त्र र वर्तमान संविधानको पक्षमा उभिएको गठबन्धनलाई जनताले स्वीकार्ने करिब–करिब निश्चित देखिएको छ । अहं, दम्भ र ईष्र्याका कारण आफ्नै पार्टीलाई क्षत्विक्षत् बनाउने र जनताले पाँच वर्षको लागि दिएको ‘म्यान्डेट’ (जनादेश)लाई थेग्न नसक्ने नेता र पार्टीलाई यस वर्ष लोकतन्त्रको स्थायित्वको खातिर नेपाली जनताले धुलिसात बनाउने सबैले अपेक्षा गरेका छन् ।

हामी लोकतान्त्रिक, गणतान्त्रिक, संघीय संविधानको पक्षधर शक्तिहरूले चुनाव जितुन् भन्ने कामना गर्छाैं । आफ्नो अहंकार र दम्भको खातिर प्रतिगामी शक्तिलाई समेत शिरमा बोकेर हिँड्ने शक्तिहरूलाई परास्त गरून् भन्ने पनि हाम्रो कामना छ । सदाझै लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा हामी अडिग छौं, यसैलाई मार्गदर्शन मान्ने शक्तिहरू राज्य सञ्चालनको बागडोरमा आऊन् भन्ने हाम्रो अपेक्षा हो र जनताको पनि यही अपेक्षा छ भन्ने हाम्रो ठहर छ ।

अन्त्यमा, २०७४ को शुभारम्भसँगै देशान्तर मिडिया प्रा.लि.ले रेडियो देशान्तर १००.३ र देशान्तर न्युज डटकम सुरु गरेको थियो । जसले छैटौं वार्षिकोत्व मनाउन सफल भएको छ । सूचना प्रविधिमार्फत् सूचनाहरू विश्वभर फैलाउने उद्देश्यले अनलाइन (डिजिटल) पत्रकारिता सुरु गरिएको हो । आगामी दिनमा पनि हाम्रा सबै सञ्चारमाध्यमलाई सहयोग र सद्भाव प्राप्त हुने विश्वासका साथ नव वर्ष २०७९ ले पाठक, श्रोता, शुभचिन्तक, विज्ञापनदाता र देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।