देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मनले चाहेको पु¥याउने मैतीदेवी’

देशान्तर

काठमाडौँ । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।

मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।

पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताउछन् । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ । उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।

दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिए । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।

करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् । त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ ।

नियमित रुपमा मैतीदेवीको पूजार्चना गर्दै आएकी अञ्जु श्रेष्ठले भने, “यस मन्दिरमा पूजा गर्दा मनमा आनन्द आउँछ, मनले चाहेका इच्छा पूरा हुन्छ ।” उनले बाल्यकालदेखि नै सो मन्दिरमा आएर पूजा गर्ने गरेको छ ।

नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ । एका बिहानै हातभरि पूजाका सामग्री लिएर पूजा गर्न लाम बसेकी ६५ वर्षीया खिमादेवी सिलवालले मैतीदेवी आफ्नो ‘मनकी माता’ भएको बताईन । आफू जन्मेदेखि नै देवीप्रति विश्वास जागेकाले बाँचुन्जेल देवीको मन्दिर आउने प्रणसमेत उनले गरे ।

बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।

मैतीदेवी मन्दिर मुलुकका विभिन्न क्षेत्रका आन्तरिक तथा विदेशी पर्यटकको पनि आकर्षण बन्दै गएको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव दर्शन महतोले गत वर्षको भुइँचालाबाट मन्दिर परिसरमा रहेका पाटी एवम् अन्य संरचना भत्किएकाले यसको पुनःनिर्माणका लागि पहल गरिरहेको जानकारी दिए । सांस्कृतिक धरोहर मैतीदेवीलाई व्यवस्थित गर्नका लागि भक्तजनले चढाएको भेटी एवम् चन्दा नै मुख्य स्रोत भएको सदस्य सचिव महतोले जनाए ।