देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी : मन्त्री डा महत

देशान्तर

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् । राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहेका मन्त्री डा महतले बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग भने–‘दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।’ भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री डा महतले दिए । ‘उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ’ , डा महतले दिए । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गरेको भन्नेबारेको पत्रकारको जिज्ञासमा मन्त्री डा महतले नेपालका राष्ट्रपतिलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको स्पष्ट पारे ।

उनले भने–‘नेपालका राष्ट्रपतिलाई भारतले दिने् गार्ड अफ अनर महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।’ हामीले यस्तो अनर विमानस्थलमै दिने गरेकाले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति पनि उपस्थित हुनुभएको मन्त्री डा महतले स्पष्ट पारे । राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मङ्गलबार रातिसम्म सम्पन्न भएपछि मन्त्री डा महत आज स्वदेश फर्किएका हुन । नयाँ दिल्लीमा रहँदा राष्ट्रपति भण्डारी तथा भ्रमण दलमा सहभागी अन्य उच्च अधिकारीलाई भारतको राष्ट्रपति भवनमा आतिथ्यता प्रदान गरिएको छ । भारतका प्रधानमन्त्री मोदीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले उहाँको नेतृत्वमा भारतले आर्थिक वृद्धि तथा विकासमा हासिल गरेको प्रगतिप्रति बधाई दिँदै छिमेकी एवम् जोडिएको अर्थतन्त्रको हिसाबले नेपालले पनि भारतको प्रगतिबाट लाभ लिन चाहेको बताउनुभयो ।

त्यस क्रममा प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको प्रगति तथा विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री डा महतले जानकरी दिए । महिला सशक्तीकरण तथा समावेशिताका क्षेत्रमा संवैधानिक व्यवस्थालगायत माध्यमबाट नेपालले प्राप्त गरेका उपलब्धिबारे राष्ट्रपति भण्डारीले चर्चा गर्दै संविधान कार्यान्वयन गर्ने सिलसिलामा एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थानुरुप स्थानीय तहको निर्वाचन कार्यक्रम तय भई निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी पनि दिएका थिए ।

लोकतन्त्रको संस्थागत विकास एवम् आर्थिक प्रगतिका लागि नेपालले गर्ने हर प्रयासमा भारतको सद्भाव एवम् सहयोग रहने कुरा भारतीय प्रधानमन्त्रीले बताएको मन्त्री डा महतले दिए । राष्ट्रपति भण्डारीसँग भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले पनि शिष्टाचार भेट गरेका थिए । त्यसैगरी भारतीय जनता पार्टीका महासचिव राममाधव नेतृत्वको एवं अन्य राजनीतिक दलका प्रतिनिधिमण्डलले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । भारतीय विदेश मन्त्रालय, भारतीय उद्योग परिसङ्घ, उद्योग वाणिज्य महासङ्घद्वारा संयुक्त रुपमा आयोजित भारतीय तथा नेपाली उद्योगी र व्यवसायीसँगको अन्तक्र्रियामा राष्ट्रपति भण्डारीले निजी क्षेत्रको प्रबद्र्धन तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपालले प्रदान गरेका सुविधाका बारे जानकारी दिँदै लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न आमन्त्रण गरेकी थिइन् । सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा महतले नेपालमा विद्यमान व्यापार तथा लगानीमैत्री नीतिको बारे चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय उद्योगीव्यवसायीलाई आग्रह गरेका थिए ।