देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

देशान्तर

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबार सम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले वताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।

“यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्छ,” ढकालले भने । पर्यटन विभागबाट अनुमति लिएकामध्ये मङ्गलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।

आरोही काठमाडौँबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् । केही आरोही दोलखाको जिरीहुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।

यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेकाले आरोहणका लागि कुशल व्यवस्थापनमा लागेको सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए । “यस वर्ष आरोहीको सङ्ख्या बढी भएकाले व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,” उनले भने ।