स्थानीय तहको निर्वाचन सम्पन्न भएको २०७४ र यो २०७९ को निर्वाचनमा नेपाली कांग्रेस र अरू दलका बीच धेरै भिन्नता आइसकेका छन् जसले नेपाली कांग्रेस कुनै पनि प्रकारले कमजोर छैन बरु सबैभन्दा बलियो छ भन्ने देखाउँछ । त्यसका पक्ष हुन त्यो निर्वाचनमा र त्यसपछि उपनिर्वाचनमा प्रकट भएका अवस्थाहरू । यो वस्तुगत विवरणलाई उपयुक्त तरिकाबाट देशव्यापीरूपमा प्रष्ट पार्न सकियो भने त्यसको प्रतिफल नेपाली कांग्रेस यो निर्वाचनमा सबैभन्दा ठूलो दल भएर प्रकट हुनेछ । यतिबेलाको वस्तुगत स्थिति र त्यतिबेलाका तथ्यांकगत विवरण यो अवस्थाको तस्विरका आधार हुन् ।
कांग्रेसले गर्न खोजेको अहिलेको गठबन्धन ऊ आफैँ कमजोर भएर होइन । यद्यपि कांगे्रसलाई कमजोर देखाउन त्यस्तो खालको भ्रम खडा गर्ने प्रयास भने भैरहेको छ । त्यसलाई विभिन्न तथ्यतथ्यांकका आधारमा सस्थागत रूपले नै प्रष्ट पारियो भने त्यो आफैं मेटिनेछ ।
धरान उपनिर्वाचनका सन्देश
धरान उपमहानगरको उपनिर्वाचन कांग्रेसका लागि धेरै पक्षबाट उदाहरण बन्न सक्तछ । यो उपनिर्वाचनमा २०१७ सालदेखि कायम रहेको किल्ला तोडियो । यो दुई वर्ष अघिको मात्र कुरा हो । २०७६ मंसिरमा सम्पन्न त्यो उपनिर्वाचनमा कांग्रेसका पक्षमा सात हजारभन्दा बढी मत कम्युनिस्टबाट कांग्रेसमा आएको थियो ।
यो उपनिर्वाचनमा जस्तो परिणाम आयो, त्यसबेला प्रकाशित समाचारका विवरण ‘२०७६ मंसिर १६, धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । तिलक राईले २६ हजार ७०९ मत पाएका छन् भने प्रकाश राईले २३ हजार ९१४ मत पाए हुन् । दुई तिहाई बहुमतको सरकारको प्रतिष्ठासँग जोडिएको उप–निर्वाचनमा कांग्रेसका उम्मेद्ववार तिलक राई नेकपासँग असन्तुष्ट कम्युनिस्ट मतदाताको भोट आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । जितसँगै कम्युनिस्ट किल्ला भनेर चिनिने धरानमा कांग्रेसले आफ्नो झन्डा गाडेको छ ।
नेपाली कांग्रेसका तिलक राई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तारा सुब्बासँग पराजित भएका थिए । सुब्बाले २० हजार ९७५ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राईले १६ हजार १०२ मत ल्याएका थिए । यो भनेको पराजयको करिब पाँच हजारको मतअन्तर हो । त्यो बेला धरानमा ७९ हजार २८२ मतदाता थिए । दुई वर्षपछि अहिले १३ हजार ५७१ मतदाता थपिएका छन् । सुब्बाको मृत्युपछि हुन लागेको नगरप्रमुखको निर्वाचन अघिल्लो पटक जस्तै सहज रूपमा जित्नेमा नेकपा ढुक्क थिएन (हरेक पल अनलाइन) ।’
आउँदो निर्वाचनको वस्तुस्थितिको अनुमान गरिँदा यो उपनिर्वाचन सम्पन्न भएको अवस्थाको राजनीतिक स्थितिको पनि विश्लेषण हुनुपर्छ । यो उप–निर्वाचन सम्पन्न हँुदा केन्द्रमा दुई तिहाई बहुमतको सरकारको थियो । त्यसका प्रधानमन्त्री हुनुुहुन्थ्यो आदरणीय केपी शर्मा ओली । यो निर्वाचन सम्पन्न भएको समय २०७६ साल मंसिरको यो समयमा सत्तारूढ दल नेकपामा कुनै विवाद थिएन । यो उपनिर्वाचन हँुदा एमाले र माओवादी आपसमा विलय भएर नेकपा बनेको करिव डेढ वर्षमात्रै भएकोे थियो ।
यी दुई दलको यस्तो एकीकरण हुनुभन्दा अघि सम्पन्न आम निर्वाचन २०७४ मा गठबन्धन भएको थियो तर निर्वाचन भने आ–आफ्नै चिह्नमा भएका थिए । त्यसमा एमाले सब भन्दा ठूलो दल र माओवादी तेस्रो ठूलो दलको हैसियत कायम भएको थियो । यो उपमहानगरमा पनि पहिलो स्थानीय निर्वाचनमा यी दुई दल एक्लाएक्लै थिए भने यो उपनिर्वाचनमा भने संयुक्त लडेका । यो समय यी दुवै दल आपसमा विलय भैसकेका थिए । त्यस्तो बेला पनि यो उपनिर्वाचनमा त्यो दलले आफ्नो पूर्वमतको रक्षा गर्न सकेन, बढाउनु त परै जाओस् ।
यो उपनिर्वाचनमा विजय पराजयको मत अन्तर २ हजार ७९५ रह्यो । विगतको परिणामको तुलनामा यो मतान्तर फराकिलो नै मान्नुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उहाँ नै हुनुहुन्थ्यो । त्यसबेला उहाँ पराजित हुँदाकोे मतको अन्तर चार हजारको हाराहारीमा थियो । त्यसबेलाको चार हजार मत अन्तरलाई घटाउँदै यो पटक करिब ३ हजार मत बढाइएको अवस्थाबाट त्यो र यो चुनावमा कांग्रेसका पक्षमा पुग नपुग आठ हजार मत बढेको देखिन्छ ।
पहिले र अहिले भिन्न अवस्था
अर्कोे, त्यो उपनिर्वाचनको समय र अहिले अर्थात् यो स्थानीय निर्वाचनकोे राजनीतिक अवस्था भिन्न छ । त्यतिबेला जस्तो नेकपाको अवस्था अहिले छैन । एउटा नेकपाबाट तीनवटा (नेकपा) दल बनेका छन् । त्यसबेला स्थिरताको नाराबाट पाइएको दुई तिहाइको मत मतदाताकै अपमान हुनेगरी आफैंबाट छिन्नभिन्न गरियो । संसद्मा आफ्नो दुई तिहाई मत, जो पाँच वर्षका लागि थियो, तीन वर्ष पुग्दानपुग्दै ६ महिनाकै अन्तरमा त्यसलाई दुई पटक विघटन गरियो । त्यो जनमत देशका लागि नै ऐतिहासिक थियो । त्यसकारण पनि यो विघटन ‘जनमतकै विघटन’ का रूपमा अर्को ऐतिहासिक बन्न गयो ।
यसले सम्वन्धित दलका लागि मात्र होइन अरू दलका लागि पनि निर्वाचनमा बहुमत वा दुई तिहाइ मागिँदा ‘केका लागि यस्तो मत ?’ भनेर मतदाताले प्रश्न सोध्ने अवस्था आयो । करिव ७० वर्षपछि मतदाताबाट एउटा विचारको गठबन्धनलाई यस्तो दुइ तिहाइको मत प्राप्त भएको थियो । त्यसमा यी दल अर्थात् त्यो गठबन्धनले घोषणा गरेअनुसार त्यस्तो मत दिने नागरिकहरूको स्थिरता र समृद्धिको अपेक्षामा खेलवाड भयो । त्यो दुई तिहाइलाई नेतृत्वको असंवैधानिक अभिलाषाबाट तोडमरोड गरियो । यो कुरा सर्वोच्च अदालतबाटै दुवै पटक स्थापित भएको छ ।
कांग्रेसको तथ्यांकगत अवस्था
अघिल्लो निर्वाचनमा कांग्रेस सर्लप्पै हारेको भनी विपक्षले गरेको प्रचारलाई पनि यतिबेला पर्याप्त जवाफ दिन आवश्यक छ । अहिले त्यस्तो जवाफ नपुगेको हो कि जस्तो महसुस हुन्छ । त्यसबेलाको तथ्यांकको सही विश्लेषण भयो भने कांग्रेसले हारेको र अरू कसैले दिग्विजय नै गरेको भन्ने देखिँदैन अर्थात् चित्र अर्कै आउँछ । जस्तो अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस एमालेको भन्दा २७ बटा पालिकामा मात्र कम छ भने अरू दलले जितेका ७४ वटा स्थानीय तहमा एमालेभन्दा कांग्रेस अगाडि छ । अहिलेको आवश्यकता हो कांग्रेसलाई प्राप्त यस्तो मतको विश्लेषण हुनु र सोअनुसारको मेहनत बढाउनु ।
अघिल्लो निर्वाचनको तथ्यांकगत विवरणले के बताउँछ भने कांग्रेसले केही मेहनत गरेर विगतको मतमा केही प्रतिशत बढाउन सकेको खण्डमा अबको चुनावमा सबैभन्दा बढी पालिकाको नेतृत्व कांग्रेसका हातमा पर्छ । त्यसका लागि २०७४ को निर्वाचनको गणित हेर्नु पर्छ जसले नै यस्तो चित्र देखाइरहेको अवस्था छ । जस्तो, त्यो निर्वाचनमा सबैभन्दा ठूलो अर्थात् बढी ठाउँ पाएको एमालेले २९३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । कांग्रेसले एमालेको भन्दा २७ मात्र कम अर्थात् २६६ स्थानीय तहको प्रमुख पद जितेको थियो । निर्वाचनमा कुनै दलको केही संख्याले जितहार हुन्छ नै । यो ठाउँमा दिग्विजय गरेको भनी प्रचार गरिरहेको दलको भन्दा कांग्रेसको संख्या २७ मात्र कम छ । यो धेरै ठूलो अन्तर होइन । यो विवरण कांग्रेसको तल्लो तहसम्म कसरी पुर्याइन्छ भन्ने आजको सवाल हो । यथार्थमा यस्तो वस्तुगत जानकारीले धेरै ठूलो मनोवैज्ञानिक काम गर्छ । पछिल्लो निर्वाचनको समयमा त अघिल्लो निर्वाचनको विवरण अर्थकारी नै हुन्छ ।
पछिल्लो निर्वाचनको समयमा अघिल्लो निर्वाचनमा प्रप्त भएको पहिलो दोस्रो ठाउँ र आफूले र अरूले प्राप्त गरेको मतको हिसाव कितावको विवरण आफ्ना अभियन्ता समक्ष सही रूपले पुगेन भने त्यो मतदातासम्म पनि पुग्दैन । त्यस्तो बेला विपक्षीबाट फैलाइने भ्रमको जालोलाई चिर्न पनि कठिन हुन्छ । यो निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विगतको अवस्थालाई अक्षुष्ण राख्न सकेको अवस्थामा र यो आसन्न स्थानीय तहको निर्वाचनमा करिब १० प्रतिशत मात्र मत बढाउन सकेको खण्डमा थप १५५ वटा पालिकामा प्रमुख जित्न सक्ने अवस्था छ । यसका लागि सर्त हो यो निर्वाचनमा त्यो १० प्रतिशत मत बढाउनु । त्यस्तो बेला कांग्रेसले ४२१ पालिका प्रमुखमा जित्ने अवस्था छ । यस्तो आकलनको यो विवरण स्वतन्त्र विश्लेषकहरूबाट पनि आइरहेका छन् । यसले २०७४ को निर्वाचन परिणाममा दोस्रो मत पाउनेमा अरूभन्दा कांग्रेस यो निर्वाचनमा अरू सबैभन्दा बलियो देखिन्छ । त्यही सन्दर्भमा गत निर्वाचनमा कांग्रेस ३१९ वटा स्थानीय तहमा दोस्रो ठाउँमा रहेको अवस्थालाई पनि हेक्का राख्नुपर्ने हुन्छ । त्यसबेला सबैभन्दा ठूलो रहेको दलको दोस्रो सख्या २४५ थियो । अर्को, ७४ वटा स्थानीय तहमा त्यसबेला ठूलो भएको दल भन्दा कांग्रेस अगाडि छ । दोस्रो हुनु भनेको पहिलो हुनका लागि नजिक हो । यी कुरा त्यसबेलाको परिणामले स्थापित गर्छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेका सिटसंख्याले पनि अहिलेको चुनावलाई विश्लेषण गर्न मद्दत गर्ला । स्थानीय तहमा ३५ हजार ४१ पद छन् । तीमध्ये १४ हजार ९७ (करिब ४० प्रतिशत) पद एमालेले जितेको थियो । कुल पदमध्ये कांग्रेसले ११ हजार ४ सय ५४, माओवादी केन्द्रले ५ हजार ४ सय ४२ सिट पाएको थियो । बाँकी अरू दलका । त्यसमध्ये एमालेबाट फुटेर एकीकृत समाजवादी भएको र त्यसमा गएका जनप्रतिनिधिको सख्या १० प्रतिशत छ । गत असोजमा तीमध्ये १ हजार ५ सय १ जनाले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
प्राध्यापकको विश्लेषणमा कांग्रेस
आउनै लागेको यो स्थानीय निर्वाचनमा प्राध्यापक कृष्ण खनालको एउटा विश्लेषणले नेपाली कांग्रेसको अवस्थाका बारे धेरै कुरा बताउँछ । उहाँका अनुसार यतिबेला देशमा नेपाली कांग्रेसमात्रै त्यस्तो पार्टी हो जो सग्लो रहेको छ । यसलाईप नि कांग्रेसले तलैसम्म लान सके लाभकारी हुन सक्तछ । उहाँ कान्तिपुर, फागुन २९ लेख्नुहुन्छ– ‘पाँच वर्षको अन्तरालमा दोस्रो चुनावमा आइपुग्दा मुलुकको राजनीति स्थिर भयो भन्ने कि अस्थिर, प्रश्न उठ्छ । दल र नेताहरूको स्थितिका सन्दर्भमा भन्ने हो भने अस्थिर छ, एक प्रकारको संक्रमणको अवस्था छ । नेपाली कांग्रेसबाहेक स्थानीय सरकारमा निर्वाचित एवं सहभागी रहेका सबै दल छिन्नभिन्न र विभाजित भएको अवस्था छ । विभाजित गुट–उपगुट र नेताहरू अस्तित्व–बचाउको परीक्षामा छन् । त्यसैले सत्ता गठबन्धनमा चुनावी गठबन्धनको मुद्दा प्रमुख बनेको हो । विपक्षी एमाले आफू कति ताछिने हो भन्ने भयमा छ । उसको गठबन्धन कुन आकारको हुन्छ भन्न सकिने स्थिति बनेको छैन ।’
प्रतिक्रिया