देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किर्ते गरी लोकसेवालाई झुक्याउन खोज्दा …

देशान्तर

काठमाडौं । आफ्नो बढुवाका लागि सबैलाई गुमराहमा पार्छ भन्ने बद्नियतका साथ किर्ते कागज बनाउने वीर अस्पतालका एक विवादित डाक्टरको अभीष्ट लोकसेवा आयोगको गम्भीरताका कारण रोकिएको छ । पटक–पटक विवादमा आइरहने मुलुककै पुरानो र ठूलो अस्पताल वीरमा कार्यरत युरोलोजीका डाक्टर अनिल श्रेष्ठलाई अहिले नेपाली प्रसिद्ध कथन ‘लाटो खान्छ एक बल्ढ्याङ बाठो खान्छ दुई बल्ढ्याङ’ चरितार्थ भएको छ । मन्त्रालयबाट मिलेमतोमा किर्ते कागज बनाएका श्रेष्ठमाथि संवैधानिक निकाय लोकसेवा आयोगले गम्भीरतापूर्वक छानबिन गर्दा उनको कर्तुत पर्दाफास भएको हो । आयोगको यस्तो कदमलाई सम्पूर्ण चिकित्सकहरूले सराह्रना गरेको बुझिएको छ भने भविष्यमा कसैबाट हुने यस्ता कदमप्रति आयोग चनाखो हुनुपर्ने देखिएको छ ।

नेपाल सरकार, स्वास्थ्य सेवामा प्रथम श्रेणी, एघारौ तहमा पुग्ने बाटोहरूमा कि त खुल्ला प्रतियोगिताबाट सीधै आउन पर्छ होइन भने आन्तरिक प्रतियोगिता वा फाइल बढुवाको बाटो कुर्नुपर्ने हुन्छ । आन्तरिक प्रतियोगिताको परीक्षामा सामेल हुन कि त ५ वर्ष १० तहमा सेवा पुगी १ वर्ष अति दुर्गम वा २ बर्ष दुर्गममा सेवा गरेको हुनुपर्ने प्रावधान छ । होइन भने सुगम क्षेत्रमा ८ वर्ष काम गरेको हुनुपर्छ । कुनै कुनै विषयको सेवा अति दुर्गम वा दुर्गममा नभएकाले त्यस्ता चिकित्सकहरू (डाक्टर) ३ वर्ष सुगममा बसे पनि परीक्षामा सामेल हुन पाउने विशेष व्यवस्था पनि छ ।
यही व्यवस्थाको गलत व्याख्या गराई बठ्याई गर्न खोज्दा वीर अस्पतालका युरोलोजिस्ट डा. अनिल श्रेष्ठ अहिले भुंग्रोमा परेका छन् । मूत्र रोगको शल्यचिकित्सकलाई युरोलोजिस्ट र युरोसर्जन दुईटै नामबाट चिनिन्छ । नेपाल सरकारको दुर्गमको दरबन्दीमा युरोलोजिस्ट लेखिएको छ । डा. श्रेष्ठले आफू युरोसर्जन भएको र हाल कुनै पनि अति दुर्गम वा दुर्गममा युरोसर्जनको दरबन्दी नभएको भनेर स्वास्थ्य मन्त्रालयबाट चिठी बनाई लोकसेवामा पेस गरी ११औं तहको परीक्षामा सामेल भए ।

लोक सेवाका कर्मचारीले मौखिक रूपमा सोध्दासमेत युरोलोजिस्ट भनेको मूत्र रोगको फिजिसियन भएको र आफू शल्यचिकित्सक युरोसर्जन भएकोले अति दुर्गम वा दुर्गममा सेवा गर्न जान खोजे पनि मौका नपाएको भनि दिउँसै रात पार्ने कोसिस गरेका थिए । सानो सानो काम फत्ते गर्न त पैसा ख्वाउन पर्ने स्वास्थ्य मन्त्रालयमा यत्रो फर्जी कागज बनाउन श्रेष्ठले मोटै रकम खर्च गरेको देशान्तरलाई जानकारी प्राप्त भएको छ । लिखित परीक्षामा सामेल हुन आयोगलाई झुक्काउन सफल भए पनि मौखिक परीक्षामा सामेल हुने बेलामा भने श्रेष्ठले आफ्नो खुट्टामा आफैं बन्चरो हानेका छन् ।

लिखित परीक्षामा सफल अर्का उम्मेद्ववार डा. प्रबोध रेग्मीलाई छिर्के लाउन डा. रेग्मी ११औं तहमै कार्यरत रहेकोले परीक्षा बदर गरी पाउँ भनेर श्रेष्ठले उजुरी हाले । डा. रेग्मी जनरल हेल्थ सर्भिसेजबाट वीर अस्पतालकै युरोलोजीमा कार्यरत छन् । सो उजुरीको आधारमा रेग्मीको परीक्षा बदर त भयो नै, उनको आफ्नै किर्ते कामको पर्दाफास पनि भयो । अहिले लोक सेवा आयोगले परीक्षा स्थगित गरेर स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष डा. भगवान कोइराला, वीर अस्पतालको युरोलोजी बिभाग प्रमुख डा. रविनबहादुर बस्नेत र टिचिङ अस्पतालको युरोलोजी विभाग प्रमुख डा. पवन चालिसे रहेको छानबिन समिति नै गठन गरेको छ ।

हाल पनि काठमाडौं उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगरलगायत ठाउँमा सरकारका युरोलोजिस्टहरू कार्यरत छन् भने डा. प्रबोध रेग्मी नै ५ वर्ष दाङमा सेवा गरेर आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डँडेलधुरा अस्पतालमा युरोलोजिस्टको दरबन्दी भए पनि सो अस्पतालले आजसम्म युरोलोजिस्टको अनुहार देख्न पाएको छैन । चिकित्सकहरू सुविधाभोगी भइरहेको र विशेष गरेर नेपाल सरकारका चिकित्सकहरू काठमाडौं छाडेर जान नचाहने जनगुनासो व्याप्त हुँदा आफ्नो पूरै सेवा अवधि काठमाडौंको वीर अस्पतालमा बसी फर्जी कागज बनाई परीक्षामा सामेल भई नियमको अपव्याख्या गर्ने श्रेष्ठलाई सरकारी कागज किर्ते अन्तरगत कारबाही गर्न काठमाडौं बाहिर रहेर काम गरिरहेका चिकित्सकहरूले माग गरेका छन् । यदि नियमावलीको अपव्याख्या गरेर अझै पनि श्रेष्ठलाई चोख्याउन खोजियो भने चिकित्सकहरूको अदालत र अख्तियारसमेत जाने योजना बनाएर बसेको एक चिकित्सकले देशान्तरलाई बताए ।

विवादित डा. श्रेष्ठ अहिले युरोलोजिस्टहरूको छाता संगठनको महासचिव पनि हुन् । आफैंले युरोलोजिस्ट र युरोसर्जन भनेको फरक हुन् भनी जग हँसाएका छन् । संगठनकै एक उच्च पदाधिकारीलाई देशान्तरले सोध्दा डा. अनिललाई साथीभाइको अगाडि अनुहार देखाउन पनि लाज लाग्न पर्ने हो भनेका थिए । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा युरोलोजी विषयको संयोजक पनि डा. अनिल श्रेष्ठ नै हुन् । आफ्ना विद्यार्थीको अगाडि पनि उनलाई हीनताबोध हुनुपर्ने हो । डा. श्रेष्ठले यस्तै नियमको अपव्याख्या गरेर बाठो हुन खोज्दा पोहोर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले पनि उनको बढुवा रोकेको बुझ्नमा आएको छ । वीर अस्पतालमा सुरुदेखि नै श्रेष्ठ बिरामीलाई उनी कार्यरत बी एन्ड वी र इयामुरा अस्पताल दौडाउने डाक्टर भनेर चिनिन्छन् । अस्पतालमा रहँदा पनि बिरामी हेर्नभन्दा खरिद इकाईमा बसी कमिसनको सेटिङ मिलाउने श्रेष्ठको समाचारहरू धेरै मिडियामा आएका छन् भने अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी परेका छन् । केही नैतिक प्रश्न उठाई पहिले ग्रान्डी अस्पतालले पनि उनलाई निकालेको थियो । उनै श्रेष्ठ आईएस्सी पनि नगरी एसएलसीबाट सीधै मेडिसिन पढी अदालतको सहारामा काम गरिरहेको पनि बुझिएको छ ।