देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको रेलवे स्टेशनमा रुसी सेनाको रकेट प्रहार, ५० जनाको मृत्यु

देशान्तर

काठमाडौं । युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार मृत्यु हुनेमा पाँचजना बालबालिका पनि छन् । घटनामा ३ सय जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेलवे स्टेशनमा भएको आक्रमण रुसले गरेको अर्को युद्ध अपराध रहेको बताए । आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले अपराधका लागि भविष्यमा हुने सुनुवाइमा रुसलाई कानुनको दायरामा ल्याउने बताए ।

यसअघि, जेलेन्स्कीले युक्रेन भ्रमणमा रहेकी युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितको टोलीसँग बुचा क्षेत्रको अनुगमन गरेका थिए । उर्सुलाले बुचामा सोच्नै नसकिने अपराध भएको बताए । त्यसको केही घण्टा भित्रै रेलवे स्टेशनमा आक्रमण भएको हो । उर्सुलासहितको टोली रेलमार्ग भएर पोल्याण्डबाट युक्रेन पुगेको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा ‘भयानक–आततायी अत्याचार’ गरेको बताए । रेलवे स्टेशनमा भएको मिसाइल आक्रमणको सन्दर्भमा उनले रुसको निन्दा गरे । तर रुसले भने आक्रमण गरेको स्वीकार गरेको छैन ।