देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि विद्यालयमै खोप केन्द्र

देशान्तर

काठमाण्डौ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए।

हिजो काठमाण्डौको दरबार हाइस्कुलका केही विद्यार्थीलाई खोप दिइएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालकाअनुसार नेपालमा हरेक वर्ष झन्डै चार लाख ५० हजारभन्दा धेरै टाइफाइडबाट सङ्क्रमित हुन्छन् ।

पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताए ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।