देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाउँमा गएर चुनावी वातावरण बनाउन दलसँग प्रमुख आयुक्त यादवको आग्रह

देशान्तर

काठमाडौँ, । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरेको छ ।

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यक रुपमा प्रचारप्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमीकमजोरी हुनुभएन ।”

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा यादवले भने– “आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ ।”

उनले भने – “निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बनाएको कार्ययोजनाअनुसार नै अघि बढिरहेको छ । मतदातालाई स्वतन्त्र र भयरहित ढङ्गबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ ।”

मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उनले जानकारी दिए ।

अहिले मतपत्रलाई पोकोपारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्नेजस्ता काम भइरहेको छ । आइतबार मुलुकका सातै प्रदेशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो ।