देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजधानीका अधिकांश बिद्यालयमा अझै टहरामा पठनपाठन

देशान्तर

काठमाडौं । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल (भानु मावि)का विद्यार्थी यतिबेला टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले भवन भत्काएको दुई वर्ष बितिसक्यो तर नयाँ भवन निर्माण गर्ने अझै सुरसार छैन । शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट उपत्यकाका पाँच सय सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । उपत्यकाभित्र ६२५ सामुदायिक विद्यालय रहेका छन् । मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कुलका नर्सरीदेखि कक्षा १० सम्मका करिब १८० विद्यार्थी टहरामै बढ्दै आएका छन् ।

सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्प भएको दुई वर्षसम्म भवन निर्माणका लागि शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र पुनःनिर्माण प्राधिकरणलगायत सम्बन्धित निकायलाई पटकपटक हारगुहार गर्दासमेत छिट्टै निर्माण हुन्छ भन्दै आश्वासनमात्र दिएको बताए । ‘गत वर्षको बैशाख १२मा भूकम्प गएदेखि आहिलेसम्म जस्ता पाताको टहरामै पढाउँदै आएका छौँ, टहरामा पढाउँदा धेरै समस्या हुन्छ, एउटा कोठामा पढाउँदा अर्को कोठामा अवरोध हुन्छ, वर्षात्मा पानी पर्दा र जाँडोमा समस्या भएको छ’ – प्रधानाध्यापक महतोले भने ।

उनका अनुसार सम्बन्धित निकायमा भवन निर्माणका लागि आग्रह गर्दा निर्माणबारे चीन सरकारसँग सम्झौता भएको र छिट्टै काम सुरु हुने भनिएको छ । विसं १९४८ मा निर्माण भएको सो भवन भत्किएपछि अहिले भवन रहेको अगाडिपट्टि खेल्ने स्थानमा टहरा निर्माण गरी पठन–पाठन हुँदै आएको छ । चर्र्िकएको भवन कतिबेला भत्किएर टहरालाई च्याप्ने हो भन्ने अर्को खतरा छ । विसं १९९० को भूकम्पमा दरबार हाइस्कुलको छानाको केही भाग बिग्रिएको थियो । तर २०७२ सालको भूकम्पले बस्न नमिल्ने गरी पूरै भत्काएको छ । भानु माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी नानुमाया श्रेष्ठले टहरामा बसेर पढ्दा जाँडोमा शीत पर्ने, गर्मीमा टिन तातेर बस्नै नसक्ने र वर्षात्मा पानी परेर पढाइमा अवरोध हुने गरेको गुनासो गरिन् ।

एउटा कक्षामा भएको होहल्लाले अर्को कक्षामा पठन–पाठनमा समस्या हुँदै आएको बिद्यार्थीहरुको भनाइ छ । कक्षा १० मै अध्ययनरत विद्यार्थी कविता कार्कीले खेल्ने ठाउँमा टहरा निर्माण गरिएको हुँदा खेल्नसमेत समस्या भएको गुनासो गर्नुभयो । शौचालयको पनि समस्या छ । विसं १९४८ देखि हालसम्म सो विद्यालय त्यही भवनमा रहँदै आएको थियो । भवन भत्किएपछि विद्यार्थी पनि विगतको तुलनामा घट्दै आएका छन् ।

दरबार हाइस्कुलको भुइँतलामा विंस १९३४ मा स्थापना भएको संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी पनि भूकम्पपछि टहरामै बसेर पढ्न बाध्य छन् । सो विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दाहालले सरकारले टहरा निर्माणका लागिसमेत सहयोग नगरेको गुनासो गरे । संस्कृत माविमा कक्षा ६ देखि १० सम्म अध्ययन करिब १५० विद्यार्थी रहेका छन् । भूकम्पपछि पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व शिक्षा मन्त्रीहरू र अन्य विभिन्न सम्बन्धित निकायका प्रमुखहरू भत्किएको भवन अनुगमन तथा अध्ययन गरे पनि अहिलेसम्म निर्माणका लागि कहीँ कतैबाट पहल भएको छैन ।

त्यसैगरी पद्मोदय घुम्तीनजिकै रहेको पद्मोदय उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि नयाँ भवन बन्न सकेको छैन । त्यस विद्यालयका विद्यार्थी अहिले पनि टहरामा बसेर पढ्न बाध्य छन् । प्राध्यानाध्यापक मीना कोइरालाले भवन निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिइन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्रोत जुटाउन नसकेका कारण पनि भूकम्पका कारण भत्किएका विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको बताए ।