देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३० सदस्यीय टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी भारत प्रस्थान

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो औपचारिक भ्रमणका लागि सोमवार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतिय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । यसअघि गत २७ वैशाखमा भारत भ्रमणको तयारी भइरहेका बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपतिको भारत भ्रमण स्थगित गरेको थियो । त्यतिबेला सरकारले राष्ट्रपतिको भ्रमणका लागि तयारी नपुगेको भन्दै भ्रमण स्थगित गरेको बताएको थियो ।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले १७ कात्तिकमा नेपालको राजकीय भ्रमण गरेका थिए । नेपाल भ्रमणकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए । भ्रमणका बेला राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछिन् । भ्रमणको पहिलो दिन ४ वैशाखमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दिल्ली भ्रमणका क्रममा उनलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ (सलामी) अपर्ण गर्ने  कार्यक्रम तय भएको छ ।

वैशाख ५ गते भारतीय राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा सहभागी भएको बेला राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर प्रदान गरिनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सत्तारूढ दल भारतिय जनता पार्टीका  साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको समेत भ्रमण गर्ने कार्यतालिका छ । राष्ट्रपति भण्डारी ८ वैशाख (शुक्रबार) स्वदेश फर्कनेछिन् ।

राष्ट्रपतिको भ्रमण टोलीमा ३० जना सहभागि भएका छन् । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको टोली सहभागी छन् । राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।