देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं एमालेको विवाद झन् बल्झियो

देशान्तर

काठमाडौं । स्थानीय तहको निर्वाचनको मुखमा देखिएको नेकपा एमाले काठमाडौंको विवाद सुल्झनेभन्दा पनि बल्झनेतर्फ अगाडि बढेको छ । अघिल्लो साता काठमाडौंमा अध्यक्ष केपी ओली पक्षले पेलेको भन्दै माधव नेपाल पक्षले भेला बोलाएर समानान्तर कमिटी बनाएपछि काठमाडौं एमालेको विवाद सतहमा आएको थियो । सो विवादसँगै चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौंको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य छन् ।

समितिले आन्तरिक विवाद सल्टाउने गरी छलफल सुरु गरे पनि विवाद सुल्झनेभन्दा बल्झनेतर्फ नै अगाडि बढेको छ । प्रमुख दुई गुटको आन्तरिक समस्याले काठमाडौंमा विवाद बढेको र नेताहरूको सीधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो हुने निष्कर्षमा समिति पुगेको एक सदस्यले बताए । गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । एमालेमा गुटगत समस्या देशैभर भए पनि काठमाडौंमा सबैभन्दा बढी रहेको छ । शीर्ष नेताहरूको प्रत्यक्ष अप्रत्यक्ष छायाँमा समस्या समाधान गर्न कठिन भइरहेको वामदेव समितिको निष्कर्ष छ । यस्तै भइरहेमा अबको निर्वाचनमा यसको सीधै असर पर्ने सो समितिका सदस्यहरूले नेताहरूलाई बताइसकेका छन् ।

एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताको बुझाइ छ । एमाले काठमाडौंमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्यसमिति गठन गरेर पार्टीको आन्तरिक काम भइरहेको थियो ।  निर्वाचनका मुखमा नेकपा एमालेका नेताहरूबीच काठमाडौं महानगरपालिका र नगरपालिकाहरूमा आ–आफ्ना गुटका मेयर र उपमेयर छान्न होडबाजी चलेका कारण पनि एकाएक विवाद बढेको बताइएको छ ।
भाषणमा एमाले नेताहरूले पार्टी एक ढिक्का भएको बताए पनि स्थानीय तहको निर्वाचनमा उम्मेदार छान्दा गुटबन्दी मौलाएको प्रष्ट देखिएको छ ।  महानगरपालिकाको मेयरमा पार्टी अध्यक्ष केपी ओली, ओली समूहकै महासचिव ईश्वर पोख्रेल र माधवकुमार नेपाल समूहबाट आफ्ना नजिकलाई मेयरका उम्मेद्ववार बनाउन होडबाजी चलेको छ । यही कारणले काठमाडौं जिल्ला कमिटीमा विवाद देखिएको धेरैको बुझाइ रहेको छ ।