देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवार छनोटमा कांग्रेस जुट्यो

देशान्तर

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न गाउँगाउँमा नेपाली कांग्रेसका भेला तथा छलफल र बैठकहरू धमाधम भइरहेका छन् । सात सय ४४ वटा स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट वैशाख ७ गतेभित्र उम्मेदवार तय गरिसक्ने कांग्रेसको केन्द्रीय समितिले निर्णय गरिसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले उम्मेदवार छनोटको दुई बुँदे मापदण्ड तय गरेर सबै जिल्ला कार्यसमितिलाई परिपत्रसमेत गरिसकेको छ । यसका साथै जिल्ला तथा क्षेत्रीय समितिलाई तल्लो निकायले उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले गाउँपालिकामा पार्टी सांगठनिक संरचना नबनिसकेको अवस्थामा साबिकका गाउँ विकास समितिका सबै पार्टी सभापति सहसंयोजक रहने गरी गाउँपालिकाको केन्द्र भएको गाउँको पार्टी सभापतिलाई संयोजकको जिम्मेवारी दिइएको छ । पार्टीले तोकेको यही संरचनाअन्तर्गत रहेर साविकको गाउँ विकास समिति अन्तर्गतको संरचना तथा गाउँपालिकाहरूको संरचनामा देशैभर छलफल भएर क्षेत्रीय समितिलाई उम्मेदवारको नाम सिफारिस भएको बताइएको छ ।

कांग्रेसले एउटा निर्वाचन क्षेत्र अन्तर्गतका गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्ने मापदण्ड बनाएको छ । उम्मेदवारको नाम सम्बन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटतम प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्ने मापदण्ड बनाएको छ । सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटतम प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्नु पर्नेछ ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्नेछ । उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटतम प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नु पर्ने मापदण्ड बनाएको छ ।

सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा कायम जिल्ला पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्नु पर्नेछ । क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । पार्टीले तोकेको मापदण्डअनुसार देशभरका क्षेत्रीय समिति तथा जिल्ला समितिहरूले वैशाख ७ गतेभित्र नै स्थानीय तहका सबै उम्मेदवारहरूको नाम घोषणा गर्ने गरी तयारी थालेको बताइएको छ ।