देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओखलढुंगामा प्रथम थोलेदेम्बा पर्यटन महोत्सव सुरु

देशान्तर

ओखलढुङ्गा । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको ओखलढुंगाको थोलेदेम्बामा प्रथम थालेदेम्बा पर्यटकीय महोत्सव–२०७४ सुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, कला संस्कृति, पर्यटन प्रवद्र्धन हाम्रो अभियान ः स्थानीय वेशभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । विभिन्न पर्यटन व्यवसायीसँग हातेमालो गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापक रूपमा प्रचार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको ‘प्रथम थोलेदेम्बा पर्यटन महोत्सव मूल समारोह समिति’ का उपाध्यक्ष युवलाल विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा स्थानीय संस्कृति र उत्पादनलाई महत्व दिइएको छ । महोत्सवको दोस्रो दिन राष्ट्रियस्तरका कलाकारबाट सांस्कृतिक प्रस्तुति र विभिन्न खेलकुद तथा तेस्रो दिन विभिन्न सङ्घसंस्थालाई सम्मानसहित समापन गरिनेछ । राजधानीबाट करिब २१०–२१५ किमी पर पूर्वोत्तरमा अवस्थित सबैभन्दा अग्लो रमणीय डाँडा थोलेदेम्बामा सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । समुद्र सतहदेखि तीन हजार १५० मि उचाइमा रहेको त्रिभुजाकारको थोलेदेम्बा, नेपालका सात प्रख्यात डाँडामध्ये एक भएको बताइएको छ । थोलेदेम्बा क्षेत्रमा नीलो जटामसी, पाँचऔँले, यार्सागुम्बा, पाँचतले, तीनतले, बाको र लौठसल्लालगायत विभिन्न किसिमका जडीबुटी पाइन्छन् ।

थोलेदेम्बाबाट सगरमाथा, मकालु, कञ्जङ्घा र अन्य विभिन्न हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । थोलेदेम्बा डाँडाको वरिपरि रहेको घना जङ्गलमा बाघ, भालु, चितुवा, मृग, डाँफे, मुनाल, कालिजजस्ता विभिन्न वन्यजन्तु तथा पशुपक्षी पाइन्छ । ऐतिहासिक, धार्मिक, भौगोलिक, जैविक, महत्व बोकेको थोलेदेम्बाको खोज अनुसन्धान गर्नुपर्ने मूल आयोजक समितिको भनाइ छ । पात्ले, खिजीफलाँटे, खिजीचण्डेश्वरी, खिजीकाती, रावादोलु र भुसिङ्गालगायत ओखलढुङ्गाका छ गाविसबीचमा रहेको थोलेदेम्बालाई आदिवासी जनजातिको पुख्र्यौली भूभागको सुरक्षा किल्लाका साथै पितृको पवित्र बासस्थानका रूपमा लिइन्छ ।

हरेक वर्ष साउन पूर्णिमाका दिन शेर्पाले थोलेदेम्बामा कुल देवताको पूजा गर्छन् । थेमदेम्बा अर्थात् पितृ जमघट भएर बस्ने थलो पवित्रस्थल भएको हुँदा थोलेदेम्बा नाम रहन गएको ‘कोइँच सासि मुक्दुम’ मा उल्लेख छ । स्थानीयवासी डब्बु शेर्पाले थोलेदेम्बावासी शिक्षा, स्वास्थ्य, रोगजारीलगायत राज्यबाट पाउनुपर्ने हरेक अवसरबाट वञ्चित भएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेमा आफूहरू आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।

प्रथम महोत्सवसँगै मूल आयोजक समितिले रामेछाम–ओखलढुङ्गा सोलु पद मार्ग, ओखलढुङ्गा सोलु रामेछाप पदमार्ग, ओखलढुङ्गा आन्तरिक पदमार्गलगायत पर्यटकीय वैकल्पिक पदमार्ग तालिकासमेत सार्वजनिक गरेको छ । थोलेदेम्बा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी त्यहाँका युवालाई पर्यटनसँग सम्बन्धित सीप, संस्कृति, भाषा, प्रशिक्षण दिई रोजगारीको अवसर उपलब्ध गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको उपाध्यक्ष विश्वकर्माको भनाइ छ ।

ट्रेकिङ एसोसियसन अफ नेपाल टानका अध्यक्ष चन्द्र रिजालले थोलेदेम्बालाई हरेक हिसाबले सुविधासम्पन्न बनाउनुपर्ने माग गरे । सांसद रामहरि खतिवडा, यज्ञराज सुनुवार र शकुन्तला राजभण्डारीले थोलेदेम्बा महोत्सवलाई आगामी दिनमा अझै भव्य बनाइने प्रतिबद्धता व्यक्त गरे ।