देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 आजदेखि काठमाडौँमा हर्न बजाउन नपाउने , १५ सय सम्म जरिवाना

देशान्तर

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन अर्थात आजदेखि लागू हुने ट्राफिक नियम अनुसार काठमाडौँ उपत्यकाभित्र अब जाथभावि हर्न बजाउन पाइनेछैन् । यातायत व्यवस्था विभाग, ट्राफिक महाशाखा र काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकालाई वैशाख १ गतेबाट हर्न निषेधित क्षेत्र बनाउन लागिएको हो । यो नियम शुक्रबारदेखि सार्वजनिक, निजी, पर्यटकवाहक र सरकारी सबै सवारी साधनमा लागू हुनेछ । आकस्मिक सेवाका साधनहरु जस्तै दमकल, एम्बुलेन्स, प्रहरी भ्यानहरुमा भने यो नियम लागू हुने छैन ।

कसैले यो नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गर्नेछन् । त्यस्तै, दोस्रो पटकमा कारबाहीमा परे १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । तेस्रो पटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ले व्यवस्था गरे अनुसार नो हर्नको व्यवस्था ल्याएको बताए ।

दफा १६४ को (ग) मा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ । नो हर्नको व्यवस्था लागू भए नभएको हेर्न विभागले करिब ११ लाख ५० हजार सवारी साधन दर्ता भएको उपत्यकामा ११ सदस्य अनुगमन टोली गठन गरेको छ ।