देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा उत्साहका साथ लाग्न सभापति देउवाको आग्रह

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचनको अत्यन्त ठूलो महत्व रहेको बताएका छन् । नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना दिदै सभापति देउवाले आफ्नो मतबाट बन्ने स्थानीय सरकार गाउँ÷नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने उल्लेख गरेका छन् । ‘मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ ।’

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश दिँदै स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन् । निर्वाचनबाट आफूले चुनेका प्रतिनिधिका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन समेत उनले आग्रह गरेका छन् । उनले राजनीतिक दल, सङ्घसंस्था एवम् आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरू अभिव्यक्त गरिरहेको मधेसी मोर्चालाई लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समाधान खोज्न पनि उनले आग्रह गरे । यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेगमीले नव वर्ष २०७४ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा संविधानको कार्यान्वयनको शुभ सङ्केतस्वरुप स्थानीय तहको निर्वाचन तोकिएको बताउँदै २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्नु संवैधानिक अनिवार्यता भएको उल्लेख गरे । सन्देशमा संविधान जारी गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयनको लागि पनि एकजुट हुँदै र विमतिका बुँदाहरू साँघुरो बनाउँदै असन्तुष्ट पक्षहरूलाई समेट्न गम्भीररुपले लाग्नु जरुरी रहेको उल्लेख गरे ।