नेपालका कम्युनिस्टको दोहोरो चरित्र र पाखण्डको पर्दाफास, आगामी निर्वाचनका प्राथमिक तथा अचुक नारा हुन् । स्थानीय तहको मात्र होइन, प्रदेश र संघीय संसद्को चुनावका निम्ति पनि त्यो नारा उत्तिकै उपयोगी तथा सामयिक छ । जनताले आफैं प्रत्यक्ष देखेका र झेलेका दोहोरो चरित्रका घटनालाई सम्झाउन मात्र पर्छ, मतदाता आफैं स्वतः सचेत र सजग हुनेछन् । तिनलाई आकर्षक र समयसापेक्ष तुल्याएर कसरी सम्प्रेषित गर्ने हो, त्यो भने पार्टीका प्रचार संयन्त्रका रणनीति निर्माताहरूको कौशलतामा भर पर्छ । उनीहरूले त्यसलाई जति छोटो, छरितो, कर्णप्रिय र मन छुने तुल्याएर प्रस्तुत गर्नेछन्, जनताले उत्ति छिटो आत्मसात् गर्नेछन् । जनताका घरघरमा पुग्ने र कांग्रेस जिताउन भोट दिन लगाउने आग्रहको सार्थकता पनि तब मात्र सावित हुनेछ । तसर्थ, कम्युनिस्टको दोहोरो चरित्रको भण्डाफोर कांग्रेसको पहिलो प्राथमिकता हुनुपर्छ भने दोस्रो प्राथमिकतामा उसका नेताहरूको असक्षमता र भ्रष्टाचारी प्रवृत्तिको भण्डाफोर गर्ने मात्र होइन, त्यसमाथि चोटिलो प्रहार पनि गर्नै पर्नेछ !
असक्षमता दोस्रो प्राथमिकतामा किन आवश्यक छ भने नेपालका कम्युनिस्ट पार्टीका नेताहरूमा नगरपालिका र गाउँपालिकाका प्रमुखभन्दा माथिको ओहोदा सम्हाल्ने योग्यता र क्षमता रहेनछ भन्ने तथ्य एक पटक होइन, अनेक पटकको सरकार सञ्चालनको असफलताले प्रमाणित गरिसकेको छ । गठबन्धन सरकार मात्र होइन, झन्डै दुई तिहाई बहुमतको एकमना सरकार पनि उनीहरूले पूरा कार्यकाल चलाउन सकेनन् । आफ्नो प्रचण्ड बहुमतको संसद् आफैंले दुई पटक भंग गरेको उदाहरण विश्वकै इतिहासमा कतै छैन । नेपालका कम्युनिस्ट सरकारका प्रधानमन्त्रीको शासकीय अयोग्यता र असक्षमताले गर्दा सदन र सडक कतै पनि कुनै प्रकारका अवरोध र बिघ्नबाधा नहुँदा नहुँदै पनि पाँच वर्ष सरकार हाँक्न नसक्नु नालायकपनको निर्लज्ज उदाहरण हो । त्यो सरकार, यथार्थमा नेपाल र नेपाली जनताका निम्ति कहिले नमेटिने कलंकको टीका थियो, किनभने प्रजातन्त्रमा जनप्रतिनिधिको असक्षमतालाई तिनलाई रोज्ने जनताको पनि असक्षमता मानिन्छ । जनताले निर्दोष अवस्थामा पनि त्यो आक्षेप झेल्न बाध्य हुनुप¥यो– कम्युनिस्टका घोर असक्षमताका कारण ।
शासकीय गुण र क्षमता हुन्थ्यो भने केन्द्र र प्रदेश सरकारको नेतृत्व उसले असमयमै त्यसरी गुमाउनुपर्ने थिएन । हो, उनीहरूका त्यही कमजोरीमा मार गरेको हेर्न जनता आतुर छन् । कांग्रेसले त्यसको हेक्का राखेर उठ्नै नसक्ने गरेर प्रहार गरे पुग्छ ।
गठबन्धन बचाउने नाममा उनीहरूलाई नङ्ग्याउनै पर्ने त्यस्तो पुनीत कामलाई पछिका लागि भनेर सार्दै जाने हो भने फेरि उनीहरूकै झुटलाई पत्याउन जनता बाध्य हुनेछन् । उनीहरूलाई त्यसको लत पनि लागिसकेको छ । त्यस्तो भ्रम बलात् तोड्न पनि कांग्रेसले उनीहरूको दोहोरो चरित्रभित्रको पाखण्ड यो हो भनेर नङ्ग्याउन कुनै कसर बाँकी राख्नुहुन्न । यसअघि त्यसो गर्न कांग्रेसले आलटाल र अनिच्छा प्रकट गरेका कारणले नै हो, बजारमा कम्युनिस्टका सडेका पिठो बिक्ने र कांग्रेसको मसिनो चामल पनि कुहिने गरेको ! यसपालि पनि समयमै सचेत भएर आक्रमक शैलीमा प्रचार संयन्त्रलाई सही ढंगले सञ्चालन नगर्ने हो भने पुरानै गल्ती नदोहोरिएला भन्न सकिन्न । त्यसो हुनुको अर्थ हो, फेरि एकपल्ट कांग्रेसले पुर्परोमा हात राखेर पछुताउनु पर्नेछ ।
यो कसैलाई भ्रम नरहोस्, कम्युनिस्टहरू कुनै हालतमा प्रजातन्त्रवादी हुँदैनन् । प्रजातन्त्रवादीहरू जस्तोसुकै आपद् झेल्नु परे पनि कम्युनिस्ट हुन सक्तैनन् । तैपनि कम्युनिस्टहरू आफूलाई ठूला लोकतन्त्रवादी भन्न लाज मान्दैनन् । उनीहरू राष्ट्रवादी पनि होइनन् र हुन पनि सक्तैनन् । जसले आफ्नो पार्टीको नाम विदेशी नेताका नाममा राखेका छन् र कार्यालयमा पनि तिनैको तस्बिर झुन्ड्याएका छन्, ती कसरी राष्ट्रवादी हुन सक्छन् ? उनीहरू, विचार र सिद्धान्तले नै एकदलीय अधिनायकवादी हुन्, जसलाई कम्युनिस्ट घोषणापत्रले खुलस्त पारेकै छ, तैपनि उनीहरू आफूलाई बहुदलवादी भएको पाखण्ड प्रदर्शन गरेर थाक्दैनन् । संसारभरिका मजदुर एक होऊ भन्ने घोषणापत्र बोकेर हिँड्ने, अनि राष्ट्रवादीको दाबी पनि गर्ने ! त्योभन्दा ठूलो पाखण्ड र दोहोरो चरित्रको उदाहरण अर्को के हुन सक्छ ? कांग्रेसले निर्मम प्रहार गर्ने मर्मस्थल त्यही हो । त्यसमा चुक्नुहुन्न ।
उनीहरूको त्यस्तो दोहोरो चरित्र एमसीसीबाट मात्र उदांग भएको होइन, २००७ सालको क्रान्तिदेखि नै छरपष्ट हुँदै आएको हो । कांग्रेसले त्यसलाई नउछालेकाले मात्र उसको हुर्मत बचेको हो । होइन भने दिल्ली सम्झौता धोका हो, अपूर्ण क्रान्ति मान्दैनौं भन्ने उसको नाराका पछाडिको नियत कसैबाट लुकेको थिएन र छैन पनि । यसअघिको निर्वाचनमा पनि उनीहरूले त्यस्तो चरित्र प्रदर्शन गरेकै हुन् । कांग्रेससँग गठन्धन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारमा रहेको माओवादीले चुनावमा एमालेसँग तालमेल मात्र होइन, पार्टी एकीकरणको घोषणा समेत गरेर …. देख्नेलाई लाज भन्ने उखान चरितार्थ गरेकै हो । कतिसम्म भने चुनावी सम्झौता अर्को पार्टीसँग गरिसकेपछि सरकारबाट राजीनामा गर्ने सामान्य शिष्टाचार पनि माओवादीले पूरा गरेन । नैतिक पतन र चरित्रहीनताको त्योभन्दा घिनलाग्दो दृश्य अर्को हुन सक्तैन ।
नेपाली राजनीतिमा मूल्य–मान्यताको अवमूल्यन र चरित्रहीनताको थप उदाहरण खोज्न टाढा जानै पर्दैन, एमाले र माओवादीका विगतका क्रियाकलापको मोटामोटी समीक्षा नै पर्याप्त हुन्छ । झन्डै एक दर्जन समूहमा विभाजित कम्युनिस्ट पार्टीका नाम एमाले होस्, माओवादी होस् अथवा समाजवादी, आदि इत्यादि किन नहुन्, ती सबै एकै ड्याङका मुला हुन् । सबैको आधारभूत चरित्र एउटै छ । प्रजातन्त्र, कांग्रेस, भारत र अमेरिका मात्र होइन, बेलायत, जर्मनी, अस्ट्रेलिया र जापानलाई हेर्ने उनीहरूको दृष्टिकोण पनि समान छ । तिनका उन्नति र प्रगतिलाई उनीहरू फुटेका आँखाले देख्न सक्तैनन् । सनातन हिन्दूवादीको एउटा साझा विश्वास छ– ईश्वरले गल्ती गर्दैनन् । उनीहरू चाहिँ चीनलाई ईश्वर ठानेर उसले कहिलै गल्ती गर्दैन भन्ने मान्यता पाल्छन् र उसकै दोषी चस्माले विश्वलाई हेर्छन् ।
कांग्रेसको घोषणापत्र निक्लने नै छ । त्यसका माध्यमबाट उसका राजनीतिक, सामाजिक, आर्थिक तथा विश्व–दृष्टिकोण पनि प्रस्तुत हुनेछ । उसको प्रमुख प्रतिपक्ष कम्युनिस्ट भएकाले त्यसका नेताहरूले सिंहदरबारदेखि गाउँपालिकासम्म गरेका भ्रष्टाचारका शृंखलाबद्ध तथ्य र तथ्यांक पनि सार्वजनिक हुने नै छन् । त्यसमा पनि कम्युनिस्टको दोहोरो चरित्र र नेतृत्वको असक्षमताले प्राथमिकता पाउनुपर्छ, किनभने ती दुवै विषय राजनीतिक हुन्, त्यसैले सैद्धान्तिक हुन् । अन्यान्य मुद्दाभन्दा राजनीतिक तथा सैद्धान्तिक मुद्दा गौण हुनुहुन्न । त्यसलाई प्रखर रूपमा प्रस्तुत गरिरहनु पर्छ ।
प्रतिक्रिया