झापा । डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ ।
बिर्तामोड ३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापा ११ ले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ ।
आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्य भागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।
३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्ती मगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोल अन्तर घटाए । फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देवेन्द्र तामाङ घोषित भए । उनले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्ती मगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । प्रतियोगिताको वेस्ट डिफेन्डर झापाका मनोज राई, वेस्ट मीड फिल्डर झापाकै आन्दे्रस निया, वेस्ट किपर आर्मीका विकेश कुथु र वेस्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए ।
फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सात वटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो यूथ क्लब, थ्री स्टार क्लब र जावलाखेल यूथ क्लबको सहभागिता थियो ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झन्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरेका छन् । फागुन २१ गते पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे ।
प्रतिक्रिया