देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात उपभोक्ता संस्था एकजुट भएर अघि बढ्ने

देशान्तर

काठमाडौं । उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७ वटा उपभोक्ता संस्थाहरू एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर पारेर सोमबार सात संस्थाहरूले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै विगतमा भएका कमजोरी थाति राखी एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने उल्लेख गरे ।

एउटै क्षेत्रमा काम गर्ने संस्था आ–आफ्नो बाटोमा हिँड्दा उपभोक्ताको हकहित र अधिकार स्थापित गर्ने अभियान सफल पार्न नसकिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।

उपभोक्ता अधिकारकर्मीहरू अहिले यदुवंशी जस्तै हुँदा एक–आपसमा लडेरै समाप्त हुने अवस्थामा पुगेको उहाँको टिप्पणी थियो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले एकले अर्को संस्थाको अस्तित्व स्वीकार गरेर काम गर्न नसक्दा उपभोक्ता हक हितको अभियान सफल नभएको बताए । एकले अर्काको अस्तित्व स्वीकार नगरेसम्म राज्यले उपेक्षा गर्ने उनको भनाइ थियो ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उपभोक्ता अधिकारका लागि काम गर्ने सात संस्था एक्लाएक्लै हिड्दा अभियान सफल नभएकाले एकजुट हुनुको विकल्प नरहेको बताए ।

उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ता अदालत स्थापनाको लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।