काठमाडौँ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत्र १ गतेबाट सूर्य दर्शन सेवा सञ्चालनमा ल्याउने भएको छ ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।
बिहानी सेवा सञ्चालनसँगै पर्यटकहरूले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ ।
कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडा दर तय गरेको छ ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। यसै गरी विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया