देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको पहिलो चुनावी सभा सम्पन्न, सवै शीर्ष नेता एमाले प्रति आक्रमक

देशान्तर

धनगढी । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा सात नम्बर प्रदेश अन्तरगत कैलालीको अतिरियामा पहिलो चुनावी सभा सम्पन्न भएको छ । सो सभालाई सम्बोधन गर्ने सवै शीर्ष नेताहरु विपक्षी दल नेकपा एमालेप्रति आक्रमक देखिएका थिए । उनीहरुले महामानव बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुसरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताए । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले देशका सबै जातजाति वर्ग क्षेत्रका जनताबीचको एकताले मात्रै राष्ट्रिय एकता बलियो हुने बताए ।

‘बिपी कोइरालाको मेलमिलापको नीतिले मात्र देशमा १० वर्षमा समृद्धि छाउँछ’, सभापति देउवाले भने – ‘पहाड, मधेस, जनजाति विरोधी भावनाले राष्ट्रिय एकता हुँदैन् । ’ एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको आरोप देउवाको थियो । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै देउवाले भने–‘उखानटुक्काले देश चल्दैन र मधेस विरोधी भावनाले देश बन्दैन ।’ बिनाकारण एमालेले मधेसी जनतालाई चिढाएको उनले बताए । मधेसी, पहाडी, जनजाति, थारुबीच मेलमिलाप हुन नदिने ठूलो षडयन्त्र भइरहेको छ, यो व्यवहार काँग्रेसलाई मान्य हुँदैन्– सभापति देउवाले भने । देशको विकास काँग्रेसले मात्रै गर्नसक्ने बताउँदै उनले मिलेर बसेको समाजलाई बिखण्डन गर्ने तत्वप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा दशकौँदेखि भएका आन्दोलनले राजनीतिक व्यवस्थाको छिनोफानो गरिसकेकाले अब कृषि, पर्यटन, ऊर्जाको अधिकतम उपयोग गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने बताए । नेता पौडेलले १० वर्षमा देशलाई समृद्धिको दिशामा लैजाने काममा काँग्रेस लागेको बताए । एमालेले राष्ट्रवादको भ्रम फैलाइरहेको आरोप लगाउँदै उहाँले मधेसी जनता के–कारणले रिसाए भनेर आत्मसमीक्षा गर्न एमालेलाई आग्रह गरे । उनले भने–‘कम्युनिष्ट समस्या सिर्जना गर्छन्, समस्याको समाधान काँग्रेसले गर्छ ।’ पौडेलले मधेसी मोर्चा सम्बद्ध दलतर्फ लक्षित गर्दै ठूलो परिवर्तनपछि बनेको संविधानले सङ्घीयता, लोकतन्त्र, समावेशीजस्ता उपलब्धि दिएकाले यी उपलब्धिलाई संस्थागत गर्नेतर्फ लाग्नुपर्छ भने ।

नेता पौडेलले आगामी चुनावमा काँग्रेलाई धोका हुनु हुँदैन भन्दै नेता कार्यकर्ताको योगदान क्षमता र लोकप्रियताका आधारमा आगामी चुनावमा टिकट वितरण गर्नुपर्ने बताए । पौडेलले भने–‘पार्टी पद्धति र सहमतिमा नै चलाउनुपर्छ यसो हुनसकेमा मात्र काँग्रेसलाई कसैले हराउन सक्दैन ।’

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गरिब र धनीबीच रहेको दूरी कम गर्नु नै काँग्रेसको समाजवाद रहेको उल्लेख गर्दै कम्युनिष्ट विचार संसारबाट समाप्त भइसकेको बताए । काँग्रेसभित्रको गुटबन्दीको अन्त्य हुनसकेमा मात्र सफलतामा पुग्न सकिने उनको भनाइ थियो । महामन्त्री कोइरालाले चुनावमा जसले टिकट पाउँछ त्यसलाई जिताउन सबैले लाग्नुपर्ने बताउँदै भने–‘चुनावमा बागी उम्मेदवार भई पार्टी पराजित गर्नेलाई कारबाही गरिनेछ ।’