बैतडी । बैतडीमा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको हो ।
धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ ।
उनले भने, “कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना सङ्कलन गरेर परीक्षण गरेका छौं ।” स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो । नमूना सङ्कलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ ।
समुदायका अन्य व्यक्तिमा पनि कालाजारको सङ्क्रमण हुनसक्ने भएकाले परीक्षण गरिएको बताइएको छ । नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया