देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले बनायो निर्वाचनको तयारी तिव्र, आजदेखि चुनावी सभा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि आजबाट चुनावी सभा थालेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा सबै प्रदेशका हुने आमसभालाई पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।  कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि प्रदेश नम्बर ७ वाट आमसभा सुरु गरेको छ । सात नम्बर प्रदेशअन्तर्गत कांग्रेसले आज चैत्र २७ गते अर्थात् आज कैलालीको अत्तरियामा हुने आमसभाबाट गर्नेछ । सो आमसभालाई सम्बोधन गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला कैलालीतर्फ लागेका छन् ।

अत्तरियामा सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्् । कांग्रेस सबै शीर्ष नेताहरूले सबै प्रदेशमा सम्बोधन गरेर नेपाली कांग्रेस सम्पूर्ण रूपले एक भएको सन्देश दिनुका साथै नेपाली कांग्रेसले चुनावी अभियानअन्तर्गत नेपाली कांग्रेसको पक्षमा जनलहर निर्माण गर्ने बताइएको छ ।  केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीको प्रचारप्रसारका लागि सबै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने कार्यक्रमअनुसार प्रदेश नं ५ को दाङको तुलसीपुरमा चैत २८ र रूपन्देहीमा चैत २९ गते, प्रदेश नं ४ को कास्की, पोखरामा चैत ३० गते, प्रदेश नं २ को धनुषा, जनकपुरमा चैत ३१ गते र प्रदेश नं १ को झापामा आगामी २०७४ साल वैशाख २ गते आमसभा गर्ने तयारी भएको छ । त्यस्तै प्रदेश नं ३ र प्रदेश नं ६ को आमसभाको स्थान र मिति पछि तय गर्ने पार्टीले जनाएको छ । यीमध्ये प्रदेश नम्बर १ र २ को आमसभाको मिति परिवर्तन हुन सक्ने नेताहरूले बताएका छन् ।

कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सात सय ४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्न तयारी थालेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिले पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्लास्तरीय समिति र त्यसपछि सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने उपसमिति संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए । उपसमितिले कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज द्रुत रूपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने तयारी थालेको छ ।