देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं एमालेमा समानान्तर कमिटीको तयारी

देशान्तर

काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमाले काठमाडौंमा विगत सात वर्षदेखि जिल्ला अधिवेशन नभएपछि भाँडभैलो मच्चिएको छ । सात वर्षदेखि अधिवेशन हुन नसक्दा स्थानीय तहका उम्मेदवारको सिफारिस गर्ने कमिटीकै वैधानिकतामाथि प्रश्न उठेको छ । अझ सात वर्षसम्म अधिवेशन नभएको कमिटीले यही बीचमा राई पक्षले काठमाडौं जिल्लाका एमाले निकट नेताहरूलाई खबर नै नगरी चुनावी अभियान सुरुवात भएको भन्दै केपी ओलीका हातबाट कृष्ण राईलाई सूर्य चिन्ह अंकित झन्डा हस्तान्तरण गर्ने कार्यक्रम गरेपछि विवाद झनै चुलिएको नेताहरूले बताएका छन् । सो कार्यक्रममा तीन नम्बर प्रदेश संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं जिल्ला सह–इन्चार्ज सुरेन्द्र मानन्धरसहित माधव नेपाल पक्षका कसैलाई पनि खबर नगरिएको कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी भएर गुटबन्दीलाई बढावा दिन लागेको भन्दै नेपाल पक्ष समानान्तर कमिटी बनाउने अभ्यासमा लागेको छ ।

यसका कारणले एमालेको काठमाडौं जिल्ला कमिटीमा खैलाबैला मच्चिएको छ । गुटबन्दीका कारण राजधानीमा पार्टी निरन्तर ओरालो लागेका बेला चुनावकै मुखमा जिल्ला कमिटीको वैधतामाथि प्रश्न उठेर भाँडभैलो मच्चिएको छ । विधानत: जिल्ला कमिटीको कार्यकाल तीन वर्षको मात्रै हुन्छ । सात वर्षअघि निर्वाचित जिल्ला अध्यक्ष निर्मल कुइँकेल पशुपति विकास कोषको भ्रष्टाचार मुद्दामा परेपछि निलम्बित भएका थिए । त्यसैबेलादेखि तत्कालीन उपाध्यक्ष कृष्ण राईले कार्यवाहक अध्यक्षका रूपमा जिल्ला कमिटी चलाउँदै आएका छन् । राई एमाले अध्यक्ष केपी ओली निकट नेता मानिन्छन् । तर उनको नेतृत्व काठमाडौंमा माधव नेपाल पक्षले स्वीकार गरेको छैन । उनीहरूले काठमाडौंमा माधव नेपाल पक्षलाई निषेध गरिएको गुनासो गर्दा समेत पार्टी नेतृत्वले गुटबन्दीका कारण वास्ता नगरेको बताएका छन् ।

काठमाडौं एमालेको विवाद मिलाउन नेतृत्वले चासो नदेखाएमा माधव नेपाल पक्ष स्थानीय चुनावमा पार्टीको एउटा पंक्ति निष्क्रिय बस्ने अवस्था तयारीमा लागेको छ । नेपाल पक्षले यस्तो तयारी थालेपछि प्रदेश कमिटीले काठमाडौं जिल्ला कमिटीको अधिवेशन नहुञ्जेल सबैलाई समेटेर चुनावमा समन्वय गर्नका लागि कमिटी बनाउन कार्यदल बनाएको छ ।

स्थानीय चुनावका बेला पार्टीमा समानान्तर कमिटीको अभ्यास हुन थालेपछि प्रदेश कमिटीले कृष्ण राई संयोजक, वसन्त मानन्धर सह–संयोजक र विद्यासुन्दर शाक्य सचिव रहने गरी जिल्ला कमिटी पुनर्गठन गरेको थियो । तर, पुनगर्ठित कमिटीलाई कृष्ण राई पक्षले अस्वीकार गर्दै वसन्त मानन्धरलाई सहसंयोजक नमान्ने र थपिएका ३८ सदस्य पनि स्वीकार नगर्ने चुनौती दिएपछि पार्टीभित्र विवाद अझ चुलिएको बताइएको छ । काठमाडौंमा राईको नेतृत्व कायम रहेको अवस्थामा काठमाडौं महानगरको मेयर तथा नगरपालिकाका मेयरका लागि दुई–दुईवटा नाम सिफारिस हुने देखिइएको छ ।

राईको कमिटीले पार्टी सचिव योगेश भट्टराई तथा जीवनराम श्रेष्ठको नामसमेत मेयरका लागि सिफारिस नगर्ने अवस्थामा पुगेपछि पछिल्लो पटक विवाद बाहिर आएको हो । त्यसैका कारणले केही दिनअघि ताप्लेजुङ पुगेका एमाले सचिव भट्टराईले आफू काठमाडौंको मेयर पदमा दाबेदार नभएको सार्वजनिक अभिव्यक्ति दिएकाथिए ।

पार्टीको विधानभन्दा बाहिर गएर जिल्ला कमिटीमा मान्छे थपिएकाले यो विषय अब स्थायी कमिटीबाटै टुंगो लगाउनुपर्ने राई पक्षको माग गरेको छ । काठमाडौं जिल्ला कमिटीले वर्षौंदेखि अधिवेशन नगरेर अवैध भइसकेकाले चुनावका बेलामा पार्टीमा एकता कायम गर्नका लागि पाँच महिना लगाएर कमिटी विघटन नगरी पुनर्गठनमात्रै गरिएको प्रदेश संयोजक शाक्यले बताइन् । शाक्य केन्द्रमा नेपाल निकट नेतृत्का रूपमा परिचित छन् ।

प्रदेश सहसंयोजक काशीनाथ अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केदार न्यौपाने सदस्य छन् । अरुण नेपालबाहेक सबै सदस्य ओली पक्षका नेता हुन् । तर आफ््नै समूहका नेताको संयोजकत्वमा गठन भएको कार्यदलको सिफारिसलाई समेत राई पक्षले नमानेको आरोप लागेको छ । सो कार्यदलले राईलाई संयोजक र वसन्त मानन्धरलाई सहसंयोजक बनाएर ८८ सदस्यीय जिल्ला कमिटीमा ३८ जना थपिएका छन् ।

तर, वसन्त मानन्धर र थपिएका ३८ जनालाई स्वीकार नगर्ने केपी ओली पक्षका राईले बताएपछि पार्टीमा थप भाँडभैलो मच्चिएको माधव नेपाल पक्षका एक नेताले बताए । राईले भने आफ्नो निर्वाचित कमिटी भएकाले प्रदेश कमिटीलाई आफ्नो कमिटी पुनर्गठन गर्ने अधिकार नभएको दाबी गरेका छन् । नेपाल पक्षले भने केन्द्रबाट चाँडो विवाद निरूपण नभए अर्को जिल्ला कमिटी गठन गरेर समानान्तर अभ्यास गर्ने चेतावनी दिइसकेको छ । यदि तत्कालै विवाद समाधान नभए महानगरपालिकालगायत नगरपालिकाका उम्मेदवारको सिफारिस पनि दुईवटा जाने अवस्था रहेको प्रदेश संयोजक शाक्यको दाबी छ ।