ललितपुर । अखिल नेपाल फुटबल संघ एन्फामा दुई दशक लामो गणेश थापाको विरासत तोड्दै चेन्ज एन्फाको नारा लगाएकै भरमा नेतृत्वमा आएका व्यक्ति हुन्, कर्माछिरिङ शेर्पा । फिफा र एएफसीबाट प्रतिबन्धमा थापा परेपछि बाँकी कार्यकालका लागि भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए ।
झिनो मतले पराजित भएका शेर्पाले थापा इतरका सबैलाई एक ठाउँमा राखेर अर्को कार्यकालका लागि भएको निर्वाचनमा थापाकै नातेदार मणि कुँवरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । अन्तिम समयमा हार्ने पक्का भएपछि कुँवरले चुनाव नै बहिष्कार गरेको घोषणा गर्दा सहज जितका साथ चेन्ज एन्फाको नारासहित अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका थिए ।
उनकै सम्पूर्ण प्यानल निर्वाचित भएपछि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले नेपाली फुटबलको विकासमा गति प्रदान गर्ला भन्ने आम फुटबलको अपेक्षा विपरीत १ वर्षभित्र उनलाई दरिलो साथ दिनेहरू क्रमश छोड्दै गए । उनीपछि वरिष्ठ उपाध्यक्ष रहेका पंकजविक्रम नेम्बाङको अर्को समूह एन्फाभित्र खडा भएपछि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान नेपाली फुटबलमा चरितार्थ हुन पुगेको छ ।
कर्मा एन्ड उनको समूह अर्थात् महासचिव इन्द्रमान तुलाधारको साथमा एन्फाभित्र अर्को पक्षलाई पेल्ने रणनीति लिएपछि पंकजहरूको समूह अहिले स्थायी प्रतिपक्षको रूपमा स्थापित भएर काम गर्दै आएको छ । समयमा बैठक नबोलाउने, निर्णय प्रक्रिया पनि पारदर्शी नभएको भन्दै एन्फाका पदाधिकारीहरूले चर्को असन्तुष्टि जनाउँदा पनि शेर्पाले त्यसको सम्बोधन गर्नुको साटो पेल्दै जाने रणनीति बनाएका थिए ।
अहिले जेठ १५ गते चुनावी साधारणसभाको मिति तय भइसकेको अवस्थामा फेरि पनि एन्फाभित्र विभिन्न चलखेलहरू हुँदै आएका छन् । एन्फाले एकाएक जिल्ला संघहरूको चुनावको मिति स्थागित गरेको छ भने जेठ १५ को केन्द्रीय अधिवेशन के हुने भन्ने अन्योल छाएको छ । एन्फाले फागुन १५ देखि ३० गतेसम्म जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका बनाए पनि एकाएक स्थगित भएपछि पंकज एन्ड उनको समूहले विरोध गरेको छ ।
एन्फाको संस्थापन पक्षले अहिले आएर एसियन फुटबल फेडरेसन (एएफसी)ले विधानमा केही परिमार्जन गर्न भन्दै निर्देशन दिएकाले अहिले जिल्ला अधिवेशनहरू रोक्नु परेको तर्क गरे पनि अर्को पक्षले जसरी हुन्छ एन्फा कब्जा गर्ने रणनीतिअनुसार काम भइरहेको आरोप लगाएको छ ।
एन्फा अध्यक्ष शेर्पा यसपटक पनि अध्यक्षमा दोहोरिने दाउका साथ लागि पर्दा उनलाई काउन्टर दिनका लागि पंकज नेम्बाङले पनि तयारी थालेका छन् । पंकजलाई अहिले गणेश थापा, नरेन्द्र श्रेष्ठलगायतकाको साथ रहेको बताइएको छ भने शेर्पाले आफूलाई जिल्ला संघहरूले साथ दिने बताउँदै आएका छन् । पंकजले अध्यक्षको तयारी निकै अगाडि बढिसकेको बताउँदै कुनै पनि हालतमा उम्मेदवार हुने र जित्ने दाबी गर्दै आएका छन् ।
राजनीतिक आस्थाले कुरा गर्ने हो भने अध्यक्ष शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज र महासचिव इन्द्रमान तुलाधारसहित अधिकांश एन्फाका पदाधिकारीहरू नेपाली कांग्रेस समर्थित रहेका छन् भने त्यहाँ केही सदस्यहरू एमाले र माओवादीका पनि रहेका छन् । माओवादी निकटका सदस्यहरू पंकजसँग बढी रहेका छन् भने एमाले निकटहरू भने दुवै पक्षमा आधाआधाजसो रहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पंकजलाई एन्फाको अध्यक्ष बनाउनुपर्ने जोडबलका साथ लागिपरेको बताइएको छ भने शेर्पाको पक्षमा प्रकाशमान सिंह लागिपरेका छन् ।
यस्तोमा अहिले शेर्पा र नेम्बाङको आपसी झगडाले नेपाली फुटबल लथालिंग अवस्थामा पुगेको छ । खर्चको पारदर्शितामाथि प्रश्नहरू उठेका छन् भने पदाधिकारीहरूले पनि भटाभट राजीनामा दिने लहर नै एन्फाभित्र चलेको छ ।
विज्ञानले एन्फा छोडे
एन्फा लिग कमिटीको संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन् । उनले केही वर्षयता लिग कमिटीको संयोजक रहेको र गत वर्षदेखि नेपाल सुपर लिग (एनएसएल) टिम काठमाडौं रेजर्समा आबद्ध भएका थिए । गत वर्ष नै उनी रेजर्समा आबद्ध भएपछि उनले एन्फाको लिग कमिटीबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो । त्यतिबेला राजीनामा नदिएका शर्माले शुक्रबार भने पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
लिग कमिटीको संयोजक र काठमाडौं रेजर्सको निर्देशक एकैपटक हुँदा अप्ठ्यारा आउन सक्ने तथा दोहोरो जिम्मेवारीले नैतिकताको प्रश्न जोडिने भएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा जितेपछि साढे तीन वर्षअघि शर्माले लिग कमिटीको संयोजकको जिम्मेवारी पाएका थिए । गत वर्ष रेजर्समा आबद्ध हुँदा नैतिकता नदेखेका शर्माले अहिले आएर राजीनामा दिनुलाई एन्फाभित्रको राजनीतिक समीकरण पनि मुख्य कारण रहेको बताइएको छ । अहिले एन्फा अध्यक्ष शेर्पा अल्पमतमा पर्न थालेको र आउँदो निर्वाचनमा पराजित हुने सम्भावना देखेपछि उनका नजिककाहरूले क्रमश छोड्दै गएका छन् ।
प्रतिक्रिया