नेपाल, सुन्दर, शान्त, विशाल !
नेपाल सुन्दर छ किनकि प्रकृतीले यो पूण्यभूमिलाई सोह्र शृंगार भरिदिएको छ । यो शान्त छ किनकि शान्तिको अग्रदूत, अहिंसाका पुजारी भगवान् बुद्धको यो जन्मभूमि हो । यो विशाल छ । यस्को फैलावट विशाल छ । हुन त हामी विश्व मानचित्रमा नेपालको क्षेत्रफल एसियाको ०.३ प्रतिशत र सम्पूर्ण विश्वको ०.०३ प्रतिशत मान्दछौं । यो त केवल सतहको मापन मात्र हो । गहिराइबाट मापन गर्ने हो भने यस्को मापन गर्न स्वर्गसम्मै पुग्न पर्ने हुन्छ किनकि स्वर्गबाट उछिट्टिएर खसेको यो स्वर्गको एउटा टुक्रा हो ।
तपार्इं स्वर्ग जानु भएको छ ? अहँ, छैन होला । नमरी स्वर्ग देखिँदैन भन्ने हाम्रो उखान नै छ । नमरिकन स्वर्ग देखिँदैन, मर्नेले स्वर्गको बखान गर्न सक्दैन । स्वर्गको बयान गरी साध्य पनि छैन । यस्को वर्णन गर्न हजार जिब्रा भएका शेषनागलाई न हम्मेहम्मे पर्छ भने म जस्ता एकजिबे्र मानवको के जोड चल्ला र ? मैले जाने बुझेसम्म भन्नु पर्दा त्यहाँका राजा इन्द्रको हुकुम शासन चल्छ । स्वर्गका राजा इन्द्र अर्थात् राजेन्द्र र यो लेखकको बीचमा मिलेरी साइनो छ ।
मित—मितका बीच घनिष्टता नहुने कुरै भएन । ओहोरदोहोर नहुने कुनै भएन । यसैले म तपाईंलाई गोप्य सूचना चुहाउँदैछु । हुन त गोप्य सूचना चुहाएकै आधारमा कति व्यक्ति फन्दामा परिसकेका छन् । म सूचित गर्छु, त्यहाँ देवताहरूको बास छ । अप्सराहरूको नृत्य छ । स्वर्गको बगैंचा अत्यन्त मनमोहक छ । त्यहाँ शान्ति छ, खुसी छ, सुख छ, आनन्द छ । मानिसले आखिर त्यही चाहना राख्छ । यसैले त हामी मृतकका सम्झनामा स्वर्गीय वा स्वर्गबासी भनेर सम्बोधन गर्ने गर्छौं ।
एक जना विद्वान भन्नुहुन्छ, ‘हामी बोलेर होइन, हिँडेर स्वर्ग पुग्न सक्छौं ।’ अर्थात् कुरा गरेर होइन, पाइला चाल्नेहरू नै गतव्यसम्म पुग्छन् । तर के गर्नु ? कुरा ग¥यो कुरैको दुःख भन्या जस्तो । अरूको कुरा नगरेसम्म, अरूको कुरा नकाटेसम्म हामीलाई खाएकै पच्दैन । अर्थात् हाम्रो पाचन प्रणाली यति कमजोर छ कि खाएको कुरा पचाउनसमेत अरूका कुरा गर्नैपर्छ । हाम्रो पाचन प्रणाली हजमोला र डाइजिनको प्रयोगले ठीक होला जस्तो छैन । बरु यस्ता औषधिको प्रयोगले साइड इफेक्ट गर्न सक्छ । अरूको कुरा गर्न हामीले निःशुल्क पाएका छौँ । यस्ता कुरा गर्दा भने आयुर्वेदिक औषधि जस्तो कुनै साइड इफेक्ट नगर्ने हुन्छन् ।
माथि नै वर्णन गरियो नेपाल स्वर्गको एउटा टुक्रा हो । जसरी आगो र आगोको झिल्काबीच सयान गुण हुन्छ, पोल्ने । यसै प्रकारले स्वर्गलोक र नेपाललोक बीच पनि एउटा विशेपता छ सुख, शान्ति र खुसी । के नेपाल जनक, सीता र बुद्धको जन्मथलो होइन ? के यो पूण्यभूमिमा तेत्तीस कोटी देवताको बास छैन ? यो पवित्रभूमिमा भगवान् शिवले विचरण गरेका होइनन् र ? यो आराध्यदेव भगवान् पशुपतिनाथको देश होइन न ? के द्वापरयुगमा भगवान् श्रीकृष्ण पशुपतिनाथको दर्शन गर्न नेपाल खाल्डोमा आएका होइनन् र ? योभन्दा थप प्रमाण के चाहियो यो देश स्वर्गको एउटा टुक्रा नैँ हो ।
सधैं गुलामीबाट युक्त भएको यो पावन भूमिमा विदेशीहरूको गिद्धे दृष्टि नपरेको होइन । भारतको वैशालीबाट लिच्छविहरू यहाँका आदिवासीलाई विस्थापित गर्दै शासन गर्न थालेका दिए भने मुस्लिम शासक समसुद्दिनले नेपाल खाल्डोमा आक्रमण गरी पशुपतिनाथको मन्दिर भत्काउनेदेखि अनेक विध्वंशात्मक कार्यहरू गर्न थाले । आजको विश्वव्यापारीकरणको युगमा भने छिमेकी राष्ट्र वा अन्य विदेशी राष्ट्रहरूको भ्रमण, सहयोग, सुझाव अपरिहार्य नै भएको छ । अन्तर्राष्ट्रिय सहयोग, दातृ राष्ट्र र निकायको पारस्पारिक सहयोग र सद्भाव अनिवार्य नै भएको छ ।
नेपालीहरू वैदेशिक रोजगारीका निमित्त अमेरिका, जापान, बेलायत, खाडी मुलुक, कोरिया, अस्ट्रेलियालगायत अन्य मुलुकहरूमा जानका लागि लर्को लाग्दछन् । आफ्नो आर्थिक स्तर उकास्न, जीवीकोपार्जन, सीप, तालिम र अध्ययनका लागि बिदेसिनु स्वाभाविक नै हो । आज अमेरिका जान डीभी र कोरिया जान ईपीएस प्रणालीमार्फत देखिएको भीडभाडले हाम्रो विदेशी भूमिप्रतिको पलायनताको संकेत त गर्छ तर आत्मनिर्भरता भने घटेको संकेत गर्छ । यस्तै विदेशी पर्यटकहरूको नेपाल आगमन, विदेशी मुद्रा आर्जन, यहाँका साधन र स्रोतका प्रचारप्रचारलाई शुभसंकेत मान्न सकिन्छ ।
आज देशमा विदेशी हस्तक्षेप र चलखेल बढिरहेको अवस्था छ । दातृ संस्था र निकायले गर्ने सहयोगमा लुकेको स्वार्थ, उनीहरूको कडा सर्त, चर्को ब्याजदरजस्ता कुराले भने हामीलाई झस्काइरहन्छ । परेवालाई कनिका हाल्दिनु राम्रो कुरा हो तर कनिका खान आएका परेवालाई डोकोले छोपेर पासोमा पार्नु आपत्तिजनक कुरा हो । हामीले प्राप्त गर्ने आर्थिक सहयोग, सुविधाले हामीलाई नै फन्दामा पारिरहेको त छैन । एमसीसीको रडाको पछाडि कस्को के स्वार्थ छ ?
हामी सीमा मिचिएका खबरहरू बारम्बार सुन्ने गर्छांैं । कतिपय भूभागहरू अतिक्रमित भएका छन् । राजनैतिक दलहरूलाई के नागरिकको जागरणले मात्र झस्काउने हो र ? आज यो देशका देशमा कस्तो सविधान लेख्ने, कस्ता शासन प्रणाली अपनाउने विदेशीले भन्नुपर्ने कुरा के हो र ? हामी कस्तो दूषित राजनीति गर्छौ भने हाम्रा नेताहरू समस्था पर्नासाथ विदेशीका सामु लम्पसार पर्न जान्छन् । मन, पेट सबै दिन्छन् । आफ्नो छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउन दूतावासमा गुहार्छन् ।
देशको ठूलो धनराशि स्विस बैंकमा थुपारिएको कुरा बेलाबेलामा सार्वजनिक हुन्छन् । गैरकानुनी धन सम्पत्ति विदेशमा थुपारेर कस्ले यो देशलाई कंगाल बनाउन खोज्दैछ ? देशका प्राचीन मूर्तिहरू बिदेसिएका समाचारहरू सुनिरहिएकै विषय छन् । हाम्रो धर्म, संस्कृति माथि प्रहार गर्दै कसले गर्दैछ यस्तो तस्करी !
मानव तस्करीको ठूलो जालो यो देशमा फैलँदैछ । सिनेमा र नाटकमा खेलाउने प्रलोभनदेखि विदेशमा राम्रो रोगजारी दिलाइदिने भन्दे मानव तस्करको फन्दामा यो देशमा नागरिकहरू पर्दैछन् । लागू पदार्थको बिगबिगी बढाएर यो देशमा युवाहरूलाई दुव्र्यसनी पार्ने कोसिस हँुदैछ ।
हामी सबै सचेत र सजग बनौं । स्वर्गको टुक्राको रूपमा रहेको हाम्रो भूमिमा कसैको गिद्धे दृष्टि नपरोस् । कसैको कुदृष्टि नपरोस् ।
प्रतिक्रिया