देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले बनायो उम्मेदवार छनोटको विधी, बैशाख ७ सम्म उमेदवार छान्न निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ७ वैशाखभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । कांग्रेस बैठकले स्थानीय तहका उम्मेदवारको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय र जिल्ला सभापतिलाई दिनेसमेत निर्णय गरेको छ । एउटै निर्वाचन क्षेत्रभित्रका गाउँ-नगरमा क्षेत्रीय सभापति र दुई वा दुई भन्दा बढि निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ-नगरमा जिल्ला सभापतिले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने छन् ।

केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाका अनुसार स्थानीय तहका उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगर तथा ती तहका वडा समन्वय समितिले सिफारिस गर्नेछन् । सिफारिस भएका नाममा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, त्यो क्षेत्रबाट प्रत्यक्ष जितेका सांसद, नभए प्रत्यक्षतर्फका उम्मेदवार र क्षेत्रीय सभापति, निकटतम् प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम टुंग्याउनुपर्नेछ ।

तर, क्षेत्रीय समितिबाट सर्वसम्मत निर्णय नभएमा अहिलेसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद, नभए प्रत्यक्षतर्फका सांसदका उम्मेदवार, क्षेत्रीय सभापति र उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा छनोट गर्नेछ ।

त्यसैगरि दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्नेछ । उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्ने र ती नाममा क्षेत्रीय सभापति, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम् प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद र नभए प्रत्यक्षका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके जिल्ला पदाधिकारीसहित जिल्लाका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फ जितेका सांसद, नजितेको भए उम्मेदवार र जिल्ला सभापति, उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्ने मापदण्ड केन्द्रीय समितिले बनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।