काठमान्डौ । छ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले सोमवार रु १० लाख राहत उपलब्ध गराएको छ ।
वासुदेवका परिवारलाई गृहमन्त्री विमेलेन्द्र निधिले १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सरकारले आईतवार मात्रै वासुदेवका परिवारलाई राहातस्वरुप रु १० लाख दिने निर्णय गरेको थियो ।
सोमवार मोरङमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले वासुदेवकी धर्मपत्नी उर्मिलादेवीलाई सरकारको तर्फवाट चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण कार्यक्रममा वासुदेवका पत्नी उर्मिलादेवी छोराहरु गौतम, जयकान्त र छोरी लक्ष्मी उपस्थित थिए । गृहमन्त्रीले निधिले वासुदेवको हत्या भएपछि स्थानीय प्रशासनले राहतका लागि सिफारिस गरेपनि विविध कारणले निर्णय हुन नसकेको र आफ्नो पहलमा राहत दिएको बताए ।
निधिले वासुदेवको परिवारलाई राज्यवाट दिने सेवा सुविधा प्रदान गर्ने क्रममा छोराहरुलाई तत्काल म्यादी प्रहरीमा जागिर दिन पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट वासुदेवको मृत्यु भएका थियो । एसएसवीको गोलीवाट वासुदेवको मृत्यु भएपछि उनको परिवारलाई तत्कालीन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
वासुदेवको परिवारले रु १० लाख क्षतिपूर्ति उपलब्ध गराए पनि साहलाई शहीद घोषणा गर्ने बारे सरकारले अहिलेसम्म निर्णय गरेको छैन ।
प्रतिक्रिया