देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्यकार तारानाथ शर्मालाई सम्झँदा

देशान्तर

आरम्भ : वि.सं. १९९१ असार ९ गते इलाम जिल्लाको वरबोटे गाउँमा जन्मनुभएका तारानाथ शर्माको सम्झना धेरै कोणबाट गर्न सकिन्छ । उहाँको ‘घनघस्याको उकालो काट्दा’ निबन्ध मावि तहमा पढेको सम्झना छ । उहाँको परिचय व्यक्तिगत विवरण र अन्य कृतित्वका बारेमा सबैले पढ्न लेख्न र बुझ्न सकिन्छ । ती साहित्यिक क्षेत्रका सबैलाई अवगत भएका कुरा हुन् । नेपाली साहित्यिक क्षेत्रका सबैलाई अवगत भएका कुरा हुन् । नेपाली साहित्यमा विराट प्रतिभाका रूपमा परिचित शर्मालाई यस लेखनमा केही कृति चर्चा, केही संस्मरण समेटेर श्रद्धा ब्यक्त गरिएको छ ।

स्नातकोत्तर तहमा निबन्ध
नेपाली स्नातकोत्तर तहमा ताना शर्माको निबन्ध पढियो र पढाइयो । त्रिचन्द्र कलेजमा २०५८ सालमा स्नातकोत्तर तहमा ‘पाताल बिलाउने रोग’ निबन्ध पढाएको सम्झना छ मलाई । यस क्रममा शर्माको व्यक्तिगत परिचय, साहित्यिक व्यक्तिगत र कृतित्व नियात्राको चरण र प्रवृत्ति, अनि निबन्धको चर्चा परिचर्चा गरिएको हो । शर्माका केही निबन्धहरू पढ्ने र पढाउने सन्दर्भ पनि संस्मरणमा आउँछ ।

निबन्धकार ताना शर्मा
साहित्यिक नाम ताना शर्मा । सुरुमा २००८ सालमा इलामबाट प्रकाशित ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकको प्रबन्ध प्रकाशित भएपछि यात्रा आरम्भ भएको पाइन्छ । निबन्ध, समालोना, उपन्यास, साहित्य इतिहास, व्याकरण, भाषविज्ञान आदिसँग सम्बन्धित कृतिहरू प्रकाशित भएका छन् । जमर्काहरू (२०२६) बेलायततिर बरालिँदा (२०२६) जीवनका छालहरू (२०३०) पाताल प्रवास (२०४२) लगायतका निबन्धात्मक कृतिहरू प्रकाशित भएका छन् । स्वदेश तथा विदेश भ्रमणलाई विषयवस्तु बनाएर निबन्धहरू लेखिएका छन् । सिद्धहस्त नियात्राकारका रूपमा परिचित शर्माको नियात्रा लेखनको प्रमुख विशेषता भनेको वस्तुगत संवेदनालाई दुरुस्त टिप्दै जस्ताको तस्तै रूपमा प्रस्तुत गर्न सक्नु हो । शर्माको यात्रा वर्णनले पाठकलाई समेत त्यस्तै ठाउँमा पुगेर दृश्यावलोकन गरेझैं भान हुन्छ । परिष्कृत भाषाशैली, स्पष्ट दृष्टिकोण, ठेट नेपाली शब्दहरूको प्रयोगले नियात्राहरू उत्कृष्ट बनेका छन् ।

ताना शर्माका निबन्धगत प्रवृत्ति
ताना शर्माका स्वदेश वा विदेश भ्रमणसँग सम्बन्धित यात्रा वर्णनमा राष्ट्रवादी भावना पाइन्छन् । नेपाली मानसिकता, नेपालीपन, नेपाली मनोभावना उतारिएको पाइन्छ । विदेशी सुन्दर सहर र चिल्ला सडकमा चिल्ला मोटरमा गुड्दा पनि नेपाल र नेपाली माटोको महिमा सम्झेको पाइन्छ । नेपालभित्र घुम्दा नेपाललाई स्वर्गभूमि, पुण्यभूमि तथा जन्मभूमिका रूपमा प्रस्तुत गरिएको छ । नेपाली राष्ट्रियता, रीतिरिवाज, चालचलन, सभ्यता र संस्कृतिप्रति आफ्ना नियात्रामा शर्माले ज्यादै मोह प्रकट गरेको पाइन्छ । त्यसैले राष्ट्रिय चेत वा राष्ट्रवादी भावना शर्माको उल्लेख्य नियात्रा प्रवृत्ति पर्दछ ।

यात्रा अनुभूतिलाई जस्ताको तस्तै प्रस्तुत गर्नु ताना शर्माको अर्को मूल प्रवृत्ति रहेको छ । शर्माका नियन्त्राहरू यात्राका निम्ति यात्राजस्ता भएका छन् । आत्मराग प्रस्तुत गरेर निबन्ध लेखी नयाँ प्रवाह थपेको पाइन्छ ।

प्रकृति चित्रण वा प्रकृति प्रेम शर्माको अर्को प्रवृत्ति देखिन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलामको सुन्दर प्राकृति परिवेशमा जन्मी जीवनको उत्तराद्र्धमा सहरी यान्त्रिक सभ्यतामा रम्न पुगे पनि सानैदेखि प्रकृतिका काखमा हुर्केका कारण शर्माको निबन्धमा प्रकृतिको अमिट छाप छ । प्राकृतिक परिवेशमा मौलाएका नियात्रामा प्रकृतिको सुन्दर झाँकी पाइन्छ, नेपाली प्रकृति बोल्छ, प्रकृति गाउँछ रमाउँछ ।

भाषालाई सहज रूपमा प्रस्तुत गर्नु, सरल, सम्प्रेष्य र झर्रा नेपाली शब्दको प्रयोग गर्नु, उखान टुक्का र प्रतिकको प्रयोग गरी नियात्रा लेख्नु ताना शर्माका भाषागत विशेषता हुन् ।

पातालमा बिलाउने रोग निबन्ध पढेर पदाउँदा
प्रस्तुत निबन्ध नेपाली स्नातकोत्तर तहमा पढाउनका लागि मैले धेरै पटक पढेको छु । यस क्रममा यस निबन्धबारे केही लेखौं । यो निबन्धमा राष्ट्रप्रेम छ । यो ‘पाताल प्रवेश’ २०४२ मा संकलित छ । यसमा अमेरिकामा बसोबास गरेका नेपालीले नेपाल र नेपालीप्रति देखाएको बेवास्ता छ । नेपाल र नेपाली मुटुभन्दा प्यारो मानिएको छ । अमेरिका हरेक दृष्टिले विकसित भएकाले नेपालीहरू त्यसतर्फ आकृष्ट भएको चर्चा छ । नेपाल र अमेरिकाबीचमा फरक भएको र शिक्षाका कारण परपुरुषसँगको सान्निध्य, मिलन र बिछोडलाई सहज रूपमा लिने अमेरिकाको सन्दर्भ छ । स्वार्थका कारण भएको आत्मीयता, हार्दिकता पवित्रता सदैव दिगो नहुने प्रसंग छ ।

विदेशी (अमेरिकी) महिलासँग वैवाहिक सम्बन्ध राखेर त्यहीको नागरिक बन्ने र रमाइलो आनन्दको जीवन बिताउने रहर भएका पुरुषको चर्चा छ । धरानका कृष्णचन्द्र पोखरेल, राजदूत उपाध्याय, अमरमणि दीक्षित, विष्णुप्रसाद सिटौला आदिको प्रसंग र स्मरणलाई अगाडि सारी विदेशी श्रमती भएमा उनीहरूकै खटनामा चल्नुपर्दा हराएको नेपालीपन र स्वाभिमानको चर्चा गरिएको छ । पाताल (अमेरिका) मा बिलाउने रोगले गर्दा मानिसले आफ्नो देश अनि सम्पूर्ण नाम, थर, गोत्र मास्दै गएको अनि आफैंलाई त्यहाँ बिलाएको पत्तो नभएको स्थिति उल्लेख छ ।

प्रस्तुत निबन्धमा प्रतीकात्मक शीर्षकका माध्यमबाट देश र मातृभूमि नेपाललाई विर्सने अनि पाताल (अमेरिका) मा भासिनेहरूलाई तीब्र व्यंग्य गरिएको छ । नेपाल र नेपालीप्रति अत्यन्त माया गर्ने नियात्राकार शर्माले पाताल (अमेरिका)लाई त्यहाँको सुख वा वैभवले गर्दा नेपालीहरू बिलाउने हराउने स्थानका रूपमा लिएको पाइन्छ ।

भूमिकाका सन्दर्भमा मेरो भेटघाट
मैले २०६१ सालमा आख्यानकार विश्वेश्वरप्रसाद कोइराला (समालोचना) कृति प्रकाशित गर्दा भूमिकाको चक्कर चल्यो । पछि मलाई भूमिका सिद्धान्त कतै पाएपछि, कसैले नलेखेको, तयार नगरेको पाएपछि त्यसतर्फ चासो बढ्यो । ताना शर्मा भूमिका लेखक भनेर सुनेको थिएँ । उहाँसँग भूमिकाको परिभाषा लिनका लागि फोन सम्पर्क गरेँ । भेट भयो । एक घण्टा कुराकानी गर्ने अवसर पाएँ । मैले २०६१ सादेखि २०६३ सालसम्म परिश्रम गरेर भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका (२०६३) कृति प्रकाशित गरेँ । उक्त कृतिको पृ. ३ मा डा. तारानाथ शर्माले मलाई दिनुभएको भूमिकाको परिभाषन यस प्रकार छ । ‘लेखकको सामान्य परिचय दिँदै विषयगत संक्षिप्तता र अति छोटो व्याख्या एवं कृतिका विशेषताहरूको बयान गरिएको तर दोहोरो व्याख्या नभएको छोटो लेख नै भूमिका हो ।’

यसरी भूमिकाको परिभाषा धेरै विद्वानहरूबाट प्राप्त गरेँ । नयाँ कार्यको थालनी गर्दा डा. शर्माबाट प्रेरणा र हौसला पाएँ । अगाडि बढेँ । उहाँले भूमिका लेख्दाको धेरै प्रकारको अनुभव सुनाउनु भयो । अन्त्यमा एउटा नसुनिएका ध्वनि (२०६१) निबन्धसंग्रह उपहार दिएर पढ्न सल्लाह पनि दिनुभयो । डा. शर्माले ‘नसुनिएका ध्वनि’ कृतिमा आफ्नो भूमिका लेखनको अनुभव यसरी लेख्नुभएको छ ।

‘भूमिका लेख्ने मजस्ताको भन्दा लेखाउनेहरूको संख्या बढी छ । साँच्चै भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकको रूपमा उत्पन्न भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले पनि परिवार पाल्नुपर्छ तर भूमिका खेलाउन झुम्मिने स्रष्टाहरू मेरो समस्या कुनै देख्दैनन् । उनीहरू मलाई यन्त्र मानवका रूपमा ग्रहण गर्न रुचाउँछन् र बिनाज्याला शोषण गर्दछन् । आजसम्म सयौं भूमिकाहरू मैले लेखिदिएको छु । तर पारिश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा दिने विचार गरेका छैनन् । बरु अवधि तोकेर यस समयभित्र तिमीले भूमिका लेखेर दिनैपर्छ भन्ने तिनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानुपर्ने हुन्छ । (पृ.९०)’

अन्तिममा
नेपाली भाषा र साहित्यका क्षेत्रमा अमूल्य योगदान दिई आफूलाई स्थापित बनाउन सफल एक अविस्मरणीय व्यक्तित्व साहित्यकार तारानाथ शर्मा (ताना शर्मा) नेपाल, सारा विश्व र नेपालीमाझ आफ्ना कृतिका माध्यमबाट सदा सर्वदा अमर हुनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धा व्यक्त गर्दछु ।

(लेखक ज्ञवाली त्रि.वि. पद्मकन्या कलेजका उपप्राध्यापक हुन् ।)