काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।
आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने भएकोले त्यस खेलको नतिजाले पनि मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ ।
मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।
थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । मनाङलाई थ्रीस्टारले पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ । यो खेल दशरथ रंगशालमा ४ः४५ बजे सुरु हुनेछ ।
यस्तै आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । उक्त खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै सुरु हुनेछ ।
प्रतिक्रिया