चारदेशीय टी २० सिरिजमा नेपालले विजयी शुरुआत गरेको छ । घरेलु टोली ओमानविरुद्ध ६ विकेटको जित निकाल्दा नेपालका दीपेन्द्रसिंह ऐरीले नटआउट अर्धशतकीय पारि खेले । उनले टी २० क्रिकेटमा ५०० रन पनि बनाएका छन् । उनले आज नटआउट ७३ रन बनाएसँगै टी २० क्रिकेटमा ५५० रन बनाए ।
अन्तिम ओभरमा ९ रन चाहिएका बेला दीपेन्द्रले २ चौका र २ रन प्रहार गर्दै ३ बल बाँकी छदैं जित पक्का गरे । उनी र आरिफ शेखले नेपालको पारि सम्हालेका थिए ।
प्रदीप ऐरी र आशिफ शेखले नेपालको ओपनिङ गरेका थिए । जसमा आशिफ शेख १४ रन बनाएर आउट भएपछि नेपालले पहिलो विकेट गुमाएको थियो ।
त्यसलगत्तै प्रदीप ऐरी पनि व्यक्तिगत ४ रनमा पभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि नेपाली टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान उपकप्तान दीपेन्द्र सिंह ऐरी मिलेर नेपालको पारि सम्हालेका थिए । तर ज्ञानेन्द्र व्यक्तिगत १३ रनमा रनआउट भएपछि नेपालले ६२ रन हुँदा तेस्रो विकेट गुमाएको थियो ।
त्यसपछि दीपेन्द्रलाई साथ दिन क्रिजमा आएका आरिफ शेखलले उत्कृष्ट प्रदर्शन गरे । यी दुईले नेपालको स्कोर १०७ रन बनाएका थिए । आरिफ लङ सट खेल्दा व्यक्तिगत २५ रनमा आउट हुन पुगे । क्रिजमा शरद भेषावकर आए पनि सबै रन दीपेन्द्रले नै प्रहार गरे । अर्धशतक पुरा गरेपछि खुलेका दीपेन्द्रले बाउन्ड्रिमा नै जोड दिएका थिए भने शरदले ४ बलमा ४ रन बनाउँदै दीपेन्द्रलाई गतिलो साथ दिएका थिए । दीपेन्द्रले समग्रमा ५३ बल खेल्दा १ छक्का र ८ चौका प्रहार गरे । ओमानका केलमुल्लाहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । नेपालका अविनाश बोहोराले ३ विकेट लिँदा आरिफ शेख, कमलसिंह ऐरी र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रनको नटआउट पारि खेल्दा मोहम्मद नदीम ३१ रन बनाएर आउट भए । यस्तै, जितेन्दर सिंह १३ रन बनाउँदा कश्यप प्रजापति, सोहेब खान र आयान खान सबैले ११–११ रनको पारि खेले ।
प्रतिक्रिया