देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तरको समाचारले खतिवडाको राजीनामा मागियो

देशान्तर

काठमाडौं । बुद्ध एयरका मुख्य लोडर भरत सिलवाल सुन तस्करीमा रंगेहात पक्राउ परेको समाचार देशान्तर साप्ताहिकले प्रकाशित गरेपछि यतिबेला बुद्ध एयरमा पाँडे पजनी सुरु भएको छ । गुपचुप राख्न चाहेको उक्त घटनाबारे देशान्तरले समाचार प्रकाशित गरेपछि बुद्ध एयरका सञ्चालकहरूले समाचार दिनेको खोजी सुरु गरेका छन् । अत्यन्तै गोप्य राखिएको समाचार कसरी बाहिर गयो भन्ने विषयमा छलफल गर्न सञ्चालकहरूले दर्जनौं पटक आकस्मिक बोर्ड बैठकहरू डाकेको र समाचार बाहिर ल्याउनेको पहिचान गर्न आन्तरिक रूपमा अनुसन्धान समिति नै बनाएको स्रोतले बतायो ।

स्रोतका अनुसार बुद्ध एयरका सञ्चालक सुरेन्द्रबहादुर बस्नेतका अति निकट रहेर काम गरिरहेका सहायक म्यानेजर गंगाप्रसाद खतिवडालाई समाचार बाहिर चुहाएको आशंका गरिएको छ । लामो समयदेखि बुद्ध एयरमा कार्यरत खतिवडाका बस्नेतको घरमा समेत आवश्यक सेवा पुर्‍याउने कर्मचारी हुन् । खतिवडामात्रै होइन उनका बुवा पनि बुद्ध एयरका सञ्चालक बस्नेतका निकट व्यक्ति हुन् । खतिवडाका बुवा बस्नेतको घरमा पुजारीको रूपमा कार्यरत थिए । त्यस्तै खतिवडा विगत १९ वर्षदेखि बुद्ध एयरमा कार्यरत छन् ।

सुन तस्करीमा भरत सिलवाल पक्राउ परेको समाचार प्रकाशित भएपछि त्यसमा खतिवडाकै हात रहेको आशंका गर्दै व्यवस्थापकले उनको राजीनामा मागेको स्रोतले बतायो । तर खतिवडाले आफू निर्दोष रहेको भन्दै राजीनामा दिन मानेका छैनन् ।

उता पक्राउ परेका सिलवालको बारेमा प्रहरीले अहिलेसम्म औपचारिक रूपमा कुनै पनि सूचना बाहिर ल्याएको छैन । एयरपोर्टको सुरक्षार्थ रहेको सैनिक गणको नेतृत्व पनि यसमा मुछिने भएपछि यसबारे सत्यतथ्य बाहिर ल्याउन प्रहरी हच्किएको स्रोत बताउँछ । सैनिकका उच्च अधिकारीले प्रहरीलाई सूचना बाहिर नल्याउन दबाब दिइरहेको बुझिएको छ ।