अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलले जितेको छ । सोमबार विहान सकिएको खेलमा सेनेगलले अफ्रिका कप अफ नेशन्सका सर्वाधिक सफल टिम इजिप्टलाई पेनाल्टी सूटआउटमा ४–२ गोलले पराजित गर्दै सेनेगलले उपाधि जितेको हो ।
लिभरपुलका स्टार खेलाडी इजिप्टका मोहम्मद सलाह र सेनेगलका साडियो मानेबीचको भिडन्तको रुपमा हेरिएको फाइनल खेलको निर्धारित समय भने गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि गरिएको पेनाल्टी सूटआउटमा मानेले नै सेनेगलका लागि निर्णायक गोल गर्दै पहिलो पटक अफ्रिका कप अफ नेशन्सको उपाधि दिलाएका हुन् ।
निर्धारित समयको सुरुमै सेनेगल पेनल्टीमा गोल गर्न चुकेको थियो । सातौ मिनेटमा नै सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टीको अवसर दिएका थिए । मानेले प्रहार गरेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले बचाउँदै टीमको सुरुवाती संकट भने टारेका थिए ।
त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो । सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा र साडियो मानेले गोल गरेका थिए । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुक्न पुगे । सेनेगलसँगको हारसँगै इजिप्टको आठौंपटक च्याम्पियन बन्ने सपना भने पुरा भएन ।
प्रतिक्रिया