देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्य रिल्याक्सेसनका लागि पढ्छु

देशान्तर

ध्रुवचन्द्र गौतम

पूर्वराजदूत जगदीशशमशेर धेरैअघि त्यसै बखत दिल्लीमा राजदूत थिए, जगदीशशमसेर राणा । साहित्यकार जगदीशशमशेर होइन । डिप्लोमेट जगदीशशमशेर राणा । त्यसबखत मैले उनलाई भेटेको थिए“ । साथमा वरिष्ठ साहित्यकार मोहनराज शर्मा । त्यसै वखत राजदूतसँग लिएको अन्तर्वार्ताको प्रस्तुति :

धेरै समयअघि दिल्लीमा एकदिन नेपालका लागि राजदूत जगदीशशमशेर राणासँग भेट्ने अवसर प्राप्त भयो । पहिले त लाग्यो उहाँसँग भेट्न कठिन छ, किनभने एक दिन एक दिन कयौं घण्टासम्म हामी दूतावासको प्राङ्गणमा बसेका थियौं । त्यसबेला राजदूत कतै देखिनु भएको थिएन । एक पटक केवल उहाँको मोटर देखिएको थियो । त्यसमा झन्डा पनि लागेको थियो । मैले र मोहनराज शर्माले ठानेका थियौंं राजदूत हुनुहुन्छ त्यसकारण भेट्न भनेर सजग र उत्सुक भएका थियौं । तर गाडी खाली रहेछ ।

दोस्रो पटक हामी अनुरोध गर्न गएका थियौ, हाम्रो साथमा भारत–भ्रमण गर्न गएका विद्यार्थीका समस्याहरू लिएर । हमाल त्यहाँ मिनिस्टरको पदमा हुनुहुँदो रहेछ, पूरा नाउँ चूडाबहादुर हमाल (प्रख्यात नेपाली फिल्म नायक राजेश हमालका पिता) मिलनसार र फरासिला । मैले सोधे– ‘तपार्इंको यो मिनिस्टर भन्ने पद के हो ?’

बताउनुभयो,– ‘एउटा खास मानिस, एउटा खास अनुभव प्राप्त गरेर आएका खण्डमा त्यसले मिनिस्टर पद दिइन्छ ।’ मैले उहाँसँग पनि सोधेको थिएँ – साहित्य कतिको पढ्नुहुन्छ ?

मोहनराज शर्मा र म यस पटक एमएका केही विद्यार्थी लिएर भारत भ्रमणमा निस्केका थियौं । दिल्लीबाट बम्बै जानु थियो । त्यसैको प्रबन्ध गर्नु थियो । यात्रा सकेसम्म सुविधाजनक होस् भनेर विद्यार्थीहरू पनि चाहन्थे एक पटक राजदूतसँग भेटौंं । यही अनुरोध लिएर हामी त्यहाँ गएका थियौंं ।

राजदूतले खबर पठाउनुभयो । विद्यार्थीहरूसँग पनि भेटौंला, पहिलो प्रोफेसर साहेबहरूसँग भेटुँ । हाम्रो यो दुविधा त त्यतिखेर मेटियो, के भने राजदूतले भेट दिनुहुन्छ कि दिनु हुन्न ? किनभने उहाँ कहिलेकाहीँ अनि कडा पनि भइदिनुहुन्छ भन्ने कुरा, कुनै विद्यार्थीबाटै सुनिएको थियो ।
मलाई त साहित्य र अन्य क्षेत्रका लागि सामग्री नै प्राप्त हुन्थ्यो । एक पन्थ दुई काज । त्यो अवसर पनि बाहिर हिँडेको बखत पाइन्छ भने राम्रै हो ।
जगदीशशमशेर राणा स्पष्टवादी देखिनुहुन्छ । पूर्वपरिचय थिएन, तै पनि अपरिचित व्यवहार गर्नु भएन । कुराको घनिस्टताका लागि यति नै पर्याप्त थियो । मैले उहाँसँग पहिलो प्रश्न गरेँ– साहित्यमा कत्तिको रुचि छ, पढ्ने र लेख्ने दृष्टिले ?

‘तपाईंले मलाई अर्कै भन्ठान्नु भयो । म त्यो जगदीशशसशेर होइन’ राणाले स्पष्ट गर्नुभयो । मैले स्पष्ट गरेँ त्यस्तो होइन । साहित्यकार जगदीशशमशेरसित त म परिचित छु । मैले यहाँको साहित्यक रुचिबारे सोधेको हुँ । उहाँले भन्नुभयो – ‘एक जमाना थियो, नेपाली साहित्य म निकै पढ्थें, तर अब …धेरै पढेको छैन ।

पढ्दाखेरि कुन लेखक पढ्नुहुन्थ्यो ?
सम, देवकोटा, सिद्धिचरण … । प्रायः २००७ साल अगाडिका लेखक पढ्नु भएको रहेछ ।
नयाँ नि ?
नयाँ पढेको छैन ।
विदेशी लेखक ?
शेक्सपियर, चाल्र्स डिकेन्स, शा आदि ।
अहिले के पढ्दै हुनहुुन्छ ?
अहिले त म दुईवटा पुस्तक पढ्दै छु, एउटा सिक्किमबारे र अर्को एउटा लिओन उरिसको उपन्यास ।
लाइट होला ?
होइन, लाइट भए पनि ऐतिहासिक नै छ । उनको पुस्तक ।
कस्ता पुस्तकहरूमा विशेष रुचि छ ?

ऐतिहासिक विषयका जीवनी र आत्मकथा खालका विशेष गरेर । जगदीशशमशेर राणाले एउटा पढ्ने बानीको बेहोरा दिनुभयो । उहाँ एक पटकमा एउटै पुस्तक पढिरहनु हुन्न । विभिन्न पुस्तक एकै पटकमा थाल्नु हुन्छ । केही समयसम्म एउटा पुस्तक पढ्यो त्यसपछि रुचि बदलियो अर्को पुस्तक पनि पढ्यो ।

राणामा साहित्यिक रुचि रहेछ ।, यो त छर्लंग भयो । उहाँ स्वयं लेखनमा कतिको रुचि राख्नुहुन्छ ?

उहाँले आफ्नो टेबिलमा फिंजिएका विभिन्न कागतपत्र देखाउँदै जवाफ दिनुभयो–यतिका प्रेम पत्रहरू लेख्नु पर्छ, अरू लेख्ने पढ्ने फुर्सदै पाइन्न ।

त्यसो भए कहिल्यै कुनै कविता, साँच्चिकै कुनै प्रेम पत्र लखेको समय छ कि ?
अवश्य छ, के भने कविता उहाँले लेख्नु भएन, पत्रबारे चाहिँ मैले नै धेरै कोट्याइन् ।
बरु एउटा स्मरण लेख्ने विचार भने छ, उहाँको कुनै बखत ।
यिनै आफ्ना अनुभवहरूको ? मैले प्रश्न गरेँ ।
मसँग धेरै सामग्री छन् ।
कहिले लेख्नुहुन्छ ?
रिटायर भएपछि ।
मैले सोधेँ– साहित्यबाट कहिल्यै कुनै प्रेरणा पाउनु भयो कि ?

साहित्य म प्रेरणाभन्दा पनि रिल्याक्सेसनका लागि पढ्छु । उहाँले आफ्नो साहित्यिक दृष्टिकोण खुलस्त पार्नुभयो ।
नेपालस्थित अन्य देशका राजदूतहरू आफ्नो देशका दूतावासहरू आफ्ना साहित्यकार र कलाकारका लागि निकै आयोजनाहरू गर्दछन्, त्यसका तुलनामा हाम्रो विदेशस्थित दूतावासहरू आफ्ना लेखक–कलाकारलाई त्यति परिचित गराउँदैनन् भन्ने सुनिन्छ, त्यसको कारण के हो ?
पैसा । उहाँले संक्षिप्त तर एउटा कथा लुकेको शब्दको उच्चारण गर्नुभयो ।

उहाँको विचारमा राजदूत आफ्नो देशलाई ‘प्रोजेक्ट’ गर्ने दायित्व बहन गरेर बसेको हुन्छ, त्यसकारण उसका जिम्मेदारीहरू धेरै छन् ।
मैले भने ‘प्रोजेक्ट गर्नेमा देशको कला–संस्कृति–साहित्य पनि अनिवार्यरूपमा पर्दैन र ?’

यो कुरा उहाँले स्वीकार गर्नुभयो । त्यसपछि कुरा नेपाली भाषातर्फ मोडियो । यसमा पनि राजदूतले आफ्नो विचार व्यक्त गर्नुभयो । के भने नेपाली भाषामा एकरूपता छैन । अन्य भाषाको प्रभाव नराम्ररी पर्दैछ । त्यसतर्फ केही गर्न सक्नु प¥यो ।

त्यसमाथि मोहनराज शर्माले स्थिति स्पष्ट पार्नुभयो । हामीकहाँ त्यस्तो कुनै ठोस कार्यक्रम छैन । समस्या यही हो । जगदीशशमशेर राणाले निकै ध्यान दिएर सुनिरहनुभयो, चित्त बुझ्यो पनि होला । राजदूतको पद तनावले भरिएको छ । तनाव भन्दिनँ उत्तरदायित्व भन्छु कि कसो ?
यहाँ कस्तो छ ?

भारत र नेपालको प्राचीन र घनिष्ठ सम्बन्ध छ, त्यस कारण जिम्मेदारी पनि बढी छ ।
त्यसपछि हामीले धन्यवाद दियौं र बिदा पनि हुनु थियो । उहाँले तेस्रो दिन ११ बजे विद्यार्थीहरूलाई चियापानका लागि निम्तो दिनुभयो ।
पर्सि भेटांैंला, गफ गरौंला, चिया खाउँला हुन्न ? राजदूतले भन्नुभयो ।

तर खण्ड कस्तो प¥यो भने, हामी त्यसै दिन बिहानै (७ बजे) बम्बैका लागि प्रस्थान नगरी नहुने भयो । त्यसकारण त्यो भेट र चियापान राजदूतका साथमा फेरि हुन पाएन, जसको मलाई र विद्यार्थीहरूलाई पनि अपसोच थियो । अन्त्यमा एउटा पत्र राजदूतका नाउँमा विनम्रतापूर्वक लेख्यौं र बम्बैका लागि दगु¥यौं ।